यो वर्ष  आर्थिक वृद्धिदर  ६ दशमलव ८१ प्रतिशत मात्रै 

रेडियो कान्तिपुर संवाददाता

वैशाख १३, २०७६ | काठमाडौं

- चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ६ दशमलव ८१ प्रतिशतले वृद्धि हुने अनुमान केन्द्रीय तथ्याङ्क विभागले गरेको छ । काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै विभागले हालसम्म उपलब्ध तथ्याङक र बा“की अवधिको अनुमानका आधारमा सो प्रक्षेपण गरिएको जनाएको हो ।

सरकारले भने बजेटमार्फत यो बर्ष ८ प्रतिशतको वृद्धिदर हासिल गर्ने महत्वाकांक्षी लक्ष्य लिएपनि मध्यावधिक समिक्षा मार्फत त्यसलाई संशोधन गर्दै आर्थिक वृद्धिदर ७ देखि ८ प्रतिशतको बीचमा कायम रहने अनुमान गरेको थियो । यद्यपी सो लक्ष्य समेत पूरा नहुने विभागले उल्लेख गरेको छ । गत वर्षको आर्थिक वृद्धिदर ६ दशमलव २९ रहेको थियो ।  भूकम्प पछिको वर्षलाई छाड्ने हो भने चालु बर्षमा हुने वृद्धिदर हालसम्मकै उच्च रहने विभागको लेखा शाखाका निर्देशक गणेश आचार्यले जानकारी दिनुभयो ।

भूकम्प गएको वर्ष शून्य दशमलव ५९ प्रतिशत वृद्धि भएको थियो । त्यसपछिको वर्ष २०७३/ ७४ मा ७ दशमलव ९ प्रतिशतको वृद्धि भएको थियो । चालु बर्षमा कृषि क्षेत्रमा ५ दशमलव शून्य ३ प्रतिशत वृद्धिदर हासिल हुने देखिएको छ भने गैरकृषि क्षेत्रको वृद्धिदर ७ दशमलव ४८ प्रतिशत रहने अनुमान विभागको छ । मत्स्यपालनको वृद्धि यो वर्ष ५ दशमलव ०२ प्रतिशत रहनेछ । अघिल्लो वर्ष यसको वृद्धि ६ प्रतिशत थियो । शिक्षा क्षेत्रमा यो वर्ष ५ दशमलव १७ प्रतिशतले बढ्ने अनुमान छ । अघिल्लो वर्ष ५ दशमलव ०२ प्रतिशत रहेको थियो । 

अर्थतन्त्रको आकार ४ खर्ब रुपैयाँले बढदै मुलुकको ३४ खर्ब ६४ अर्ब पुग्ने निर्देशक आचार्यले उल्लेख गर्नुभयो । विभागले नेपालीको प्रतिव्यक्ति आय यो वर्ष वार्षिक एक हजार ३४ अमेरिकी डलर पुग्ने अनुमान गरेको छ ।  हाल प्रतिव्यक्ति आय १ हजार ४ डलर छ । 

विभागको तथ्यांकअनुसार चालु वर्षमा निर्माण क्षेत्रको वृद्धिदर ८ दशमलव ९४ प्रतिशत रहनेछ ।  गत वर्ष १० दशमलव ८९ प्रतिशत थियो ।  पर्यटक आवागमन उच्च दरमा बढे पनि पर्यटन र होटल क्षेत्रको वृद्धिदर भने खुम्चिएको विभागले देखाएको छ ।  गत आर्थिक वर्षमा ९ दशमलव ७७ प्रतिशतले बढेको यो क्षेत्रमा चालु वर्ष ८ दशमलव ३३ प्रतिशतले वृद्धि हुने देखिएको छ ।  


प्रतिक्रिया