बीउ माथिको परनिर्भरता अन्त्यका लागि स्रोत केन्द्र

जेष्ठ ३०, २०७६ |  बुटवल

बीउ माथिको परनिर्भरता अन्त्यका लागि प्रदेश ५ सरकारले स्रोत केन्द्र स्थापना गर्ने भएको छ । आन्तरिक उत्पादन र उत्पादकत्व बढाउन भन्दै प्रदेश  सरकारले स्रोत केन्द्र स्थापना गर्न लागेको हो । प्रदेश ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पाँच जिल्लामा पाँच जातीका बीउको स्रोत केन्द्र स्थापना गर्ने निर्णय गरेको हो ।

त्यसमा बाख्रा उत्पादनका लागि अर्घाखाँची, माहुरीका लागि दाङ र मसलाबालीका लागि रोल्पा छनोट भएको छ । फलफूलका लागि कपिलवस्तु र फूलका लागि पश्चिम नवलपरासीलाई तोकिएको छ । 

केन्द्रले उन्नत जात र प्रविधिका बीउहरु उत्पादन गर्नेछ । ती बीउ माग र आवश्यकताका आधारमा किसानहरूलाई उपलब्ध गराउने मन्त्री आरती पौडेलले बताउनुभयो । स्रोत केन्द्र स्थापनाका लागि सम्भाव्यता अध्ययनको काम सकिएको छ ।

अहिले आवश्यक जग्गा छनोट प्रक्रिया अघि बढेको छ । वरिष्ठ कृषि विकास अधिकृत विनोद घिमिरेले आगामी आर्थिक वर्षबाट फिल्डस्तरको काम सुरु गर्ने बताउनुभयो ।

उहाँका अनुसार स्रोत केन्द्र मार्फत प्रदेशका सबै जिल्लालाई पुग्ने गरी फलफूल, खाद्यान्न, पुष्प, तेलहन, मसलाबाली र बाख्राको स्रोत तथा बीउ उत्पादन गरिनेछ । यसका लागि मुख्य स्रोत केन्द्रबाट प्रदेशका अन्य जिल्लाहरूमा पनि सहायक बीउ उत्पादन तथा स्रोत केन्द्र विस्तार गर्ने योजना छ । 


प्रतिक्रिया