जेठ महिनामा मात्रै ५ अर्ब बढी रकमान्तर

रेडियो कान्तिपुर संवाददाता

असार ३, २०७६ | काठमाडौं

- अर्थमन्त्रालयले जेठ महिनामा मात्रै ५ अर्ब ५ करोड बढी रकमान्तर गरेको छ । चालु आर्थिक बर्ष सकिनै लाग्दा अर्थले चालु तथा पुँजिगत खर्च भुक्तानीका लागि सो रकमान्तर गरिएको जनाएको छ । भैपरी आउने विकास कार्यक्रमअन्तर्गत रानी बिराटनगर इटहरी धरान सडक योजनाका लागि १ अर्ब रुपैयाँ रकमान्तर भएको छ ।

यस्तै, व्यापारिक मार्ग बिस्तार आयोजना बेलहिया–बुटवल खण्डको सिर्जित दायित्व भुक्तानीका लागि ४० करोड रुपैया“ निकासा भएको छ । कालिगण्डकी कोरिडोरअन्तर्गत गैंडाकोट राम्दी मालढुङ्गा खण्डको लागि सिर्जित दायित्व भुक्तानीका लागि थप २० करोड रकमान्तर भएको छ । 

प्रदेश १, प्रदेश ३, गण्डकी र सूदुरपश्चिम प्रदेशमा काम सम्पन्न भएका खानेपानी आयोजनामा मात्र भुक्तानी गर्ने शर्तमा १ अर्ब २१ करोड ४० लाख रकमान्तर भएको अर्थले जनाएको छ । पूर्व सहमतिअनुसार ४ थान सवारी साधन र २ थान एम्बुलेन्स खरिदका लागि प्रहरी प्रधान कार्यालयलाई १५ करोड ५५ लाख र प्रदेश प्रहरी कार्यालयहरुलाई ४१ लाख रकम दिइएको छ । यस्तै, सशस्त्र प्रहरीको अस्पतालका लागि १ करोड २५ लाख दिइएको छ ।  

द्वन्द्वपीडित मृतक तथा बेपत्ता व्यक्तिको हकदारलाई दोहोरो नपर्ने गरी राहत उपलब्ध गराउन ३९ करोड ६५ लाख निकासा गरिएको अर्थमन्त्रालयले जनाएको छ । राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डलको चीन भ्रमणका लागि मात्रै ३ करोड ९ लाख रकमान्तर भएको छ ।

यस्तै प्रधानमन्त्री ओलीसहितको प्रधिनिधिमण्डलको भियतनाम र कम्बोडियाको भ्रमणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई २ करोड १२ लाख ८५ हजार उपलब्ध गराईएको अर्थले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । 

 


प्रतिक्रिया