प्रधानमन्त्री देउवा अब इन्स्टाग्राममा

श्रावण १५, २०७८ | काठमाडौं

पछिल्लो समय सामाजिक सञ्जाल नचलाउने को होला ? ट्वीटर, फेसबुक, इन्स्टाग्राम, युट्युब, टिकटक, क्लवहाउसजस्ता सामाजिक सञ्जालको प्रयोग अत्यधिक भइरहेको छ । सामाजिक सञ्जालको प्रयोगले हामी सबैको जीवन सहज बनाइदिएको छ । यसको दुरुपयोगको पाटोलाई एकैछिन थाती राखेर सोच्ने हो भने, पछिल्लो समय व्यवसाय प्रवर्धनदेखि जनचेतनामुलक प्रचार अनि महत्वपूर्ण कार्यक्रमको प्रत्यक्ष प्रसारणका लागि पनि उत्कृष्ट माध्यम पनि बन्दै गएको छ । 

फरक– फरक सामाजिक सञ्जालमा फरक प्रयोगकर्ता छन् । विश्वका चर्चित व्यक्तित्वदेखि नेता, राष्ट्रप्रमुखदेखि कलाकारसम्मले ट्वीटरमार्फत आधिकारिक सूचना प्रवाह गर्ने गरेका छन् । फेसबुक सबैमाझ थप लोकप्रिय मानिन्छ । इन्स्टाग्राम, टिकटक लगायत युवामाझ बढी लोकप्रिय छ । पछिल्लो समय निकै प्रयोगमा रहेको क्लवहाउसले विश्वभरका मानिसलाई आपसमा जोडिरहेको छ । नेपालमा पनि पछिल्लो समय सूचना आदान–प्रदानदेखि आफूले गरेका कामको प्रवर्धनका लागि पनि सामाजिक सञ्जाललाई रोज्न थालिएको छ ।

ट्वीटरमा मात्रै देखिने राजनीतिक व्यक्तित्वहरु क्रमश: टिकटक, इन्स्टाग्राममार्फत पनि जनतासँग जोडिन थालेका छन् । केही समय अघि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको टिकटकको निकै चर्चा थियो ।

यस्तैमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि लोकप्रिय सामाजिक सञ्जाल इन्स्टाग्राममा जोडिनुभएको छ । इन्ट्राग्राममार्फत समग्र गतिविधिको जानकारी दिइने उद्देश्यले इन्ट्राग्राम प्रयोग ल्याइएको प्रधानमन्त्री देउवाको फेसबुकमार्फत जानकारी गराइएको हो । 

इन्स्टाग्राम सुरु गरेकै दिन देउवाको एकाउन्टलाई ४ हजार ६ सय भन्दा बढीले फलो गरिसकेका छन् । यस्तै प्रधानमन्त्री देउवाका हरेक कामबारे जानकारी दिन भाइबर सेवा समेत सुरु गरेको उहाँको सचिवालयले जनाएको छ । 


प्रतिक्रिया