हरितालिका तीजको अवसरमा सिर्जनशील उद्यमी मेला

श्रावण १८, २०७९ | काठमाडौं

हरितालिका तीजको अवसरमा महिला सिर्जनशील केन्द्रले ५ दिने सिर्जनशील उद्यमी मेला आयोजना गर्ने भएको छ ।यहि साउन २७ गतेदेखि ३१ गतेसम्म १९ औँ ‘डाबर वाटिका तीज फेस्टिवल–श्रृजनशील उद्यमी मेला–२०७९’ आयोजना हुने भएको हो।  मेला काठमाडौंको त्रिपुरेस्वरस्थित वल्ड ट्रेड सेन्टरमा  हुनेछ । 

मंगलबार आयोजित पत्रकार सम्मेलनमा महिला श्रृजनशील केन्द्रकी प्रमुख मिलु थापाले अशिक्षित, भेदभाव तथा अवसरबाट वञ्चित महिला समुदायलाई सीप सिकाइ उनीहरुको सिर्जना तथा उत्पादनलाई बजारीकरण गर्न यस मेलालाई अवसरका रुपमा लिन सकिने बताउनुभयो ।

मेलामा घरेलु तथा हस्तकलाका सामग्रीहरु, तीज विशेष खानाका परिकारहरु, महिला उद्यमशीलता र वित्तिय पहुँच सम्बन्धी अन्तरक्रिया कार्यक्रम, निशुल्क स्वास्थ्य शिविर जस्ता १ सय भन्दा बढी स्टलहरु रहने  अध्यक्ष  थापाले जानकारी दिनुभयो । मेलामा १० वटा असहाय, अशक्त, अपाङग र ग्रामिण क्षेत्र पिछडिएका महिलाहरुलाई निशुल्क स्टलहरु प्रदान गराइने थापाको भनाई छ ।

केन्द्रले विगत १९ वर्ष देखि महिलाहरुलाई सामाजिक, राजनीतिक तथा भौतिक रुपमा शिक्षित बनाउन बिभिन्न गोष्ठी र तालिम दिँदै आएको जनाएको छ । जसमार्फत ७ सय भन्दा बढी महिलाहरु लाभान्वित भएको थापाले बताउनुभयो । महिलाहरुलाई उद्यमशील बनाउने लक्ष्यका साथ आयोजना हुने भनिएको सो मेलामा २५ हजार भन्दा बढी आगन्तुकले अवलोकन गर्ने आकंलन गरिएको छ । 


प्रतिक्रिया