एशियाली शिक्षा सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै झापाका धर्मेन्द्र भट्टराई

भाद्र ३१, २०७९

नेपाल इंग्लिस ल्यांग्वेज टिचर्स एशोसियसन नेल्टा का केन्द्रीय सदस्य एवम् झापा जिल्ला अध्यक्ष धर्मेन्द्र भट्टराई एशिया कै सबैभन्दा ठूलो शैक्षिक सम्मेलन एशियन समिट अन एजुकेशन एण्ड स्किल मा सहभागी हुन नेपाली प्रतिनिधिको रुपमा बैंगलोर जाने भएका छन् । आगामी असोज ३ गते देखि ७ गते सम्म भारतको कर्नाटक राज्यको राजधानी बैंगलोरमा हुने सो सम्मेलनमा भारतका सबै प्रान्तका साथै एशियाका अधिकांश देशहरूको सहभागिता रहने बताइएको छ । 

कार्यक्रममा ३ दिनसम्म एशियाका शिक्षामन्त्रीहरु र एजुकेशन लिडरहरु बीच अबको एशियाको शिक्षा नीति निर्माण, शिक्षा मा साझेदारी, नीति कार्यान्वयन, प्रविधि को विकास र प्रयोग र शिक्षा क्षेत्र का चुनौती र सम्भावना जस्ता बिषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । यसैबीच भारतको सबैभन्दा उच्च शैक्षिक संस्था सम्मान एवार्ड बिभिन्न तहका शैक्षिक संस्था हरुलाई वितरण गरिने भएको छ । 

सम्मेलनको तेस्रो, चौथो र पाँचौ दिन बैंगलोर स्थित अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रमा ३ सय बढी शैक्षिक सामग्री उत्पादन गर्ने कम्पनी का १५ सय बढी शैक्षिक सामग्री प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । भट्टराई नेपाली शैक्षिक अभियन्ताको रुपमा नेपालको प्रतिनिधित्व गर्दै ब्यक्तिगत निमन्त्रणामा सो सम्मेलनमा सहभागी हुन लागेको हुन् । उनी बिर्तामोड ९ गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयका स्थायी शिक्षक समेत हुन् । 


प्रतिक्रिया