बौद्ध सभाहल तथा ध्यान केन्द्र निर्माणको काम धमाधम (तस्बिरहरु)

वैशाख १३, २०७८ | कपिलवस्तु

राष्ट्रिय गौरवको लुुम्बिनी विकास गुरुयोजना अन्तर्गत अन्तर्राष्ट्रियस्तरको बौद्ध सभाहल तथा ध्यान केन्द्रको दोस्रो चरणको काम धमाधम भईरहेको छ । पहिलो चरण सम्पन्न भएर दोस्रो चरणको कामले गति लिएको हो । दोस्रो चरणको २६ प्रतिशत बढी काम पूरा भईसकेको छ । 

मुख्य पूर्वाधारको काम पहिलो चरणमा सम्पन्न भएर दोस्रो चरणमा फिनिसिङ र सौन्दर्यीकरणको काम भईरहेको छ । ८ हजार ३ सय वर्गमिटर क्षेत्रमा रहेको सभाहललाई चारैतिरबाट बन्द गर्ने पर्खाल (फसार्ड) को काम भईरहेको छ । चाईनिज इँटाको फसार्ड लगाउने काम पूरा हुन थालेको छ । हलभित्र पस्न ३ वटा सेन्सर ढोका र ५२ वटा हाते ढोका निर्माण भईरहेको छ । 

हल चारैतिरबाट ढाकिएपछि मनमोहक र चिरिच्याट्ट देखिएको छ । हलले ओगटेको ३८ हजार वर्गमिटरमा बाउण्ड्री वाल निर्माण भईरहेको छ । ७ सय ५० मिटर लम्बाईको पर्खालको साढे ७/७ मिटरमा ९७ वटा बुद्धमूर्ति राखिनेछ । बुद्धमूर्ति काठमाडौंमा तयार भईसकेको छ । कार्यक्रममा आउने विशिष्ट अतिथिका लागि दुई वटा वेटिङ रुम निर्माण भईरहेको छ । 

त्यस्तै दुई नम्बर गेटबाट सभा हलभित्र सर्वसाधारण र विशिष्ट अतिथि पुग्ने दुई वटा बाटो निर्माण भईरहेको छ । ८ मिटर चौडा र एक सय ६० मिटर लम्बाईको बाटोमा आरसीसी ढलान गरिनेछ । २०७७ पुस १३ गते सम्झौता गरी १८ महिना भित्र काम सम्पन्न गर्ने गरी काम थालिएको हो । लुम्बिनी, अर्घाखाँची बाबुल जेभीले ३४ करोड ९५ लाखमा दोस्रो चरणको ठेक्का लिएको हो । 

‘अहिले द्रूत गतिमा काम भईरहेको छ,’ साईड ईञ्जिनियर वसन्त क्षेत्रीले भन्नुभयो, ‘हामी समय अघि नै सम्पन्न गछौं ।’ अहिले दैनिक एक सय ५० मजदुरले काम गरिरहेका छन् । पहिलो चरणको काम सम्पन्न भएसँगै २०७८ जेठ १२ गते परेको बुद्ध जयन्ती यही हलमै मनाउने गरी तयारी थालिएको छ । 

बुद्ध जयन्तीमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको भ्रमण हुन सक्ने भन्दै रक्षा सचिव आएर हलको अवलोकन गरी फर्केका छन् । अवस्था सामान्य रह्यो भने राष्ट्रपति र प्रधानमन्त्री आउने कार्यक्रम रहेको लुम्बिनी विकास कोष योजना प्रबन्धक सरोज भट्टराईले बताउनुभयो ।


प्रतिक्रिया