कोरोनाका कारण लुम्बिनीका विहार, मन्दिर, गुम्बा बन्द (तस्बिरहरु)

वैशाख १५, २०७८ | कपिलवस्तु
कोरोना भाइरसको महामारीका कारण मुलुकको प्रमुख पर्यटकीयस्थल लुम्बिनीका विहार, मन्दिर, गुम्बा, चैत्य र गोन्पा बन्द भएका छन् । लुम्बिनीका विहार, मन्दिर, गुम्बा, चैत्य र गोन्पा एक सय ५७ दिनपछि दोस्रो पटक बन्द भएका हुन् ।
कोरोना भाइरस संक्रमणको दोस्रो लहर तीब्र रुपमा बढीरहेकाले दोस्रो पटक बन्द गरिएको हो । मुलुकमा पहिलो पटक भएको लकडाउनका बेला २०७६ चैत्र ११ देखि ०७७ मंसिर ४ गतेसम्म बन्द थिए । मंसिर ५ बाट सञ्चालनमा आएका विहार ०७८ बैशाख १३ बाट फेरि बन्द गरिएको हो । स्वदेशी विदेशीले बढी रुचाउने ठाउँमा भिडभाड बढेर महामारी फैलिन सक्ने भएकाले मन्दिर, गुम्बा बन्द गरिएको हो ।



सतर्कता र सावधानी अपनाउनु नै उपयुक्त विकल्प भएकाले मन्दिर सञ्चालकहरु आफै सक्रिय भएर बन्द गरेका हुन् । सूचना टाँसेर, क्षमायाचना गरेर र प्रवेश निषेध लेखेर बन्द गरेका छन् । कतिपयले मुल तथा सहायक ढोकामा ताल्चा लगाएर बन्द गरेका छन् । थेरबादी संप्रदायको विहार रहेका पूर्वी क्षेत्रमा रोयल थाई मोनाष्ट्री, म्यान्मार गोल्डेन टेम्पल र श्रीलंका महाविहार बन्द भएका छन् । यी तिन वटै विहार त्यहाँको सरकारको प्रतिनिधित्व गर्दै यहाँ रहेका छन् । कम्बोडियन मोनाष्ट्री, महाबोधी सोसाईटी मन्दिर, अन्तर्राष्ट्रिय भिक्षुणी संघ र नेपाल थेरबाद मन्दिर पनि बन्द भएका छन् ।



‘मन्दिर बन्द गर्दा निक्कै दुखी बनेका छौं,’ रोयल थाई मोनाष्ट्रीका भिक्षु फ्रा थिरापोङ थिरापन्योले भन्नुभयो, ‘अवस्था सजिलो भएपछि फेरि खुला गर्छौं ।’ पर्यटकीय स्थल चलायमान हुँदा संक्रमणको जोखिम उच्च हुन्छ । आवागमन रोक्नु नै अन्तिम विकल्प हुँदा यसलाई सहज रुपमा लिन आग्रह गरे ।




त्यस्तै महायानी संप्रदायको पश्चिमी क्षेत्रमा रहेका चीनको जोङहुवा मोनाष्ट्री, दक्षिण कोरियन, फ्रान्सको लिनसन मन्दिर पनि बन्द छन् । जर्मनको तारा फाउडेसन, जापानको सोक्यो र सिंगापुरको उर्गेन दोर्जे चोलिङ्ग विहारमा आवागमन बन्द गरिएको छ ।





क्यानाडाको ठांग्रु ब्रज विहार र फ्रान्सको बुद्धिष्ट संगठन मन्दिर तथा अष्ट्रिया र स्विजरल्याण्डको गेडेन विहार बन्द भएका छन् । भियतनाम विहार, पण्डिताराम अन्तर्राष्ट्रिय ध्यान केन्द्र, म्यानमार र टुन्ङाराम बौद्ध फाउण्डेसनका ढोकामा ताल्चा झुण्डाईएको छ । सञ्चालनमा रहेका २३ विहार मन्दिर मध्ये ९५ प्रतिशत बढी बन्द भएका छन् ।