‘कोरोना माहामारीको अन्त्यको कामना गर्दै बुद्धजयन्ती’

जेष्ठ १२, २०७८ | कपिलवस्तु

कोरोना भाइरसको माहामारी अन्त्यको कामना गर्दै लुम्बिनीमा २५६५ औं बुद्ध जयन्ती मनाईएको छ । बौद्ध धर्मावलम्बीहरुले कोरोना महामारीबाट छुटकारा पाउन पाठ गर्ने रतन सूत्र पाठ गरेका थिए । नेपालसँगै संसारले छिटै कोरोना भाइरस संक्रमणबाट मुक्ति पाओस् भन्दै कामना गर्दै प्रार्थना गरिएको थियो । 

स्वास्थ्य सावधानी अपनाउँदै करीब ३० जना भिक्षु, भिक्षुणी, लामा गुरु र गुरुमाले प्रार्थना गरेका थिए । थेरवादी र महायानी परम्परा अनुसार मंगल कामना गरिएको थियो । त्यसपछि रतन सूत्र पाठ गरिएको थियो । भिक्षु महासंघ अध्यक्ष भिक्षु मैत्री महास्थवीरले शिल प्रदान गरेका थिए । 

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको शुभकामना संदेश भिडियो मार्फत देखाईएको थियो । संस्सकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले पठाएको शुभकामना सन्देश लुम्बिनी विकास कोष सदस्य सचिव सानुराज शाक्यले पढेर सुनाएका थिए । 

भगवान गौतम बुद्धले ज्ञान प्राप्त गरेको चौथो वर्षमा पानी नपरेर अनिकाल भई महामारी फैलिएर बैशालीमा हजारौ मान्छे मरेका थिए । उनले रातभर रतन सूत्र पाठ गरे । अर्को दिन बिहान बादल फाट्यो । घनघोर वर्षा भयो । त्यसपछि राहत पुग्यो । सहज अवस्था बन्यो । अहिले विश्व व्यापी रुपमा कोरोना भाईरस संक्रमणले विश्व नै समस्यामा छ । 

अस्तव्यस्त संसारले छिटै संक्रमणबाट मुक्ति पाओस् भन्दै बुद्ध जन्मस्थल लुम्बिनीमा रतन सूत्र पाठ गरिएको भिक्षु महासंघ अध्यक्ष भिक्षु मैत्री महास्थवीरले बताउनुभयो । 

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले बुद्धका चिन्तन, आदर्श र उपदेश अत्यन्तै सान्दर्भिक र महत्वपूर्ण रहेको यसलाई अनुसशरण गरेर मानव कल्याण र विश्व शान्तिका लागि उपायोग गर्नुपर्ने बताउनुभयो । 


प्रतिक्रिया