नेपालकै पहिलो सिन्धुलीगढी युद्ध संग्रहालय (फोटोफिचर)

श्रावण १३, २०७८ | सिन्धुली

संग्रहालयको प्रवेशद्वारमा तोपगोला सहित बसेका सैनिक । प्राङ्गणमा सेनाको चहलपहल । राष्ट्रिय झण्डा फहराएर सलामी अर्पण गरेका सेना प्रतिक । पूर्वपट्टी वीर योद्धाहरु घरेलु हतियार सहित लडाइँको मैदानमा रहेको भान हुने प्रतिमूर्ति । 

नजिकै राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक । ऐतिहासिक सिन्धुलीगढीको परिदृश्य हो यो । नेपाली सेनाले सिन्धुलीगढीमा नेपालमै पहिलो युद्ध संग्रहालय निर्माण सम्पन्न गरेको छ । सम्पन्न भएको संग्रहालयको उद्घाटनका लागि सिन्धुलीगढी परिसरलाई बेहुली झै श्रृङ्ंगारिएको छ । १२ महिना हुस्सु लाग्ने सिन्धुलीगढी क्षेत्रमा बिहानको समय भने पारिलो घाम लाग्छ । 

कमलामाई नगरपालिका–३ मा अवस्थित सिन्धुलीगढीमा निर्माण सम्पन्न भएको युद्ध संग्रहालयमा राखिएको डिजिटल बोर्डमा वीर योद्धाहरुको नामांकन गरिएको छ । ६ हजार २८१ स्क्वायर फुटको यो संग्रहालयमा वीर गोर्खा र अंग्रेज फौजबीच सिन्धुलीगढीमा भएको युद्धको झल्को दिने लोपोन्मुख सामग्रीहरु राखिएको छ । 

६ कोठे यो संग्रहालयमा राखिएका युद्धकालिन हातहतियार र दस्ताबेजले इतिहासको खोजी गर्न थप मद्दत मिल्ने सिन्धुलीगढीका अन्वेषणकर्ता सागर ढकालको विश्वास छ । यो संग्रहालय र सिन्धुलीगढी परिसर खोजकर्ता र जिज्ञासुहरुलाई राम्रो अध्ययनको थलो बन्ने भन्दै उहाँले नेपालीका लागि मात्र हैन्, अंग्रेजहरुलाई समेत पितापुर्खाको लडाइँका विषयमा थप कौतुहलता जगाइ डोर्‍याएर ल्याउने बताउनुभयो । 

कमलामाइ नगरपालिकाले गौरवको गुरुयोजना निर्माण गरी सिन्धुलीगढीलाई अध्ययन केन्द्रको रुपमा विकास गर्ने प्रयास गरेको छ । गढी परिसरमा ठूलोगढी, सानोगढी जाने सडक निर्माण गरी गेट बनाइएको छ । सिद्धस्थान मन्दिर नजिकबाट ढुङ्गा बिच्छाएर संग्रहालयसम्म बाटो बनाइएको छ । त्यहीँ राणाकालिन अड्डा, अदालत, जेलघरलाई संरक्षण गरिएको छ । राणा शासनकालमा सिन्धुलीगढी पूर्वी २ नं को मुकाम रहेको थियो । 


प्रतिक्रिया