पूर्वी नवलपरासीमा २० किलोमिटर लामो जाम (तस्बिरहरु)

भाद्र १४, २०७८ | पूर्वी नवलपरासी

महेन्द्रराजमार्गको गैंडाकोटस्थित थुम्सी डाइभर्सन निर्माण नहुँदा पूर्वी नवलपरासीमा २० किलोमिटर लामो जाम भएको छ । गत बिहीबारदेखि रोकिएका गाडीको जामका कारण यात्रुहरु अलपत्र परेका छन् । महेन्द्रराजमार्गको गैंडाकोटदेखि पश्चिम रजहरको फारम बजारसम्म २० किलोमिटर खण्डमा गाडीको लामो जाम छ । 

सडक अवरुद्ध भएको ५ दिन बितिसक्दा पनि अझै सञ्चालनमा नहुँदा यात्रुको बिजोग छ । बैतडीबाट काठमाडौं हिँडेका धिरज मुडभरीले आफ्ना बच्चा सहितको गाडी विगत ४ दिनदेखि जाममा परेर बिचल्ली भएको सुनाए । बालबच्चा सहित भएकाले हिँडेर जान नसक्ने उनी जस्ता कैयन यात्रु गाडीमा बस्न बाध्य छन् । जाम रहेको स्थान नारायणगढ बजारबाट ९ किलोमिटर पश्चिममा पर्दछ । वर्षातका कारण त्यहाँ निर्माण गरिएको अस्थाथी डाइभर्सनमा गाडी फसेको छ । 

एउटा गाडी पार हुन २० मिनेट भन्दा बढी समय लाग्छ । देशकै लाइफलाइन मानिने यो सडकको २३ स्मृति पुलको डाइभर्सन निर्माण हुन नसक्दा सयौं यात्रुको बिचल्ली भएको छ । चाड मान्न हिँडेका यात्रुको बिजोग छ । 

महेन्द्रराजमार्गको सडक निर्माणको जिम्मेवारी लिएको चाइना स्टेट इन्जिनियरिङ्ग कर्पोरेशनले तदारुकता कासाथ काम नगर्दा पाँचौ दिन पनि यात्रु अलपत्र परेका हुन् । यात्रुहरु करीब ३ किलोमिटर जंगल क्षेत्र (थुम्सीको जंगल) हिँडेर वारपार गरेका छन् । बाटो हिलाम्य छ । सोमबार बिहानदेखि पानी परेको परिरहेको छ । पानी नरोकिएको भन्दै सडक निर्माणको ठेक्का लिएको चिनियाँ कम्पनीले मर्मतमा बेवास्ता गर्दै आएको छ । 


प्रतिक्रिया