जनकपुरको पोखरीमा छठको प्रसाद (फोटोहरु)

कार्तिक २४, २०७८ | जनकपुर

छठ पर्वका लागि जनकपुरको पोखरीमा व्रतालुहरु पुगेका छन् । शुद्धता, सद्भाव र आस्थाको महापर्व छठ आज श्रद्धा एवं हर्षोल्लासपूर्वक अस्ताउन लागेको सूर्यलाई अर्घ दिईँदैछ । जनकपुरको गंगा सागरमा छठ पर्वको विशेष तयारी गरिएको छ । 

गंगा सागर, धनुष सागर सहितका पोखरीलाई बेहुली झै सजाइएको छ । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वको तेस्रो दिन व्रतालुले पानीमा उभिएर दुबै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अर्घ दिई पूजापाठ गरिँदै छ । 

अस्ताउँदो सूर्यलाई अर्घ दिन बिहानैदेखि पकवानहरु पेखरीमा सजाइएको छ । सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वास अनुरुप पारस्परिक आत्मीयता र सद्भावका प्रतीक छठ पर्व मनाइन्छ । 

छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लगायतको सामग्रीहरु चढाईन्छ । त्यस्तै, प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफूल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ । 

अर्घ दिने ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान अर्थात दिनानाथलाई अर्घ दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।


प्रतिक्रिया