कता गयो बिर्खे टोपी ?

असार ५, २०७६ | तनहुँ

 - कालो रंगको बिर्खे टोपी आदिकवि भानुभक्त  आचार्यको चिनारी नै थियो । तर त्यो भानुभक्तकालीन बिर्खे टोपी अहिले खोज्दा पनि भेट्न मुस्किल छ । यो टोपी लोप हुन नदिन तनहुँको भानु नगरपालिकाले राम्रो जुक्ति निकालेको छ ।

 भानु नगरपालिकामा ७२ जना जनप्रतिनिधि र ७५ जना कर्मचारी छन् । ती सबै एउटै शैलीको टोपी लगाएर कार्यालय आउाछन् । सार्वजनिक सभा समारोहमा पनि त्यही टोपी लगाउँछन् ।  जुन टोपी नेपाली भाषाका आदिकवि भानुभक्तको चिनारी थियो । आदिकविको सम्मानका लागि कार्यालय समय र औपचारिक कार्यक्रममा बिर्के टोपी अनिवार्य गरिएको नगरपालिकाका नगर प्रमुख उदयराज गौलीले बताउनुभयो ।

भानुभक्त प्रतिको सम्मानकालागि नगरपालिकाले थालेको अभियानले उनका सन्तान पनि खुसी भएको भानुभक्त खनाटी श्रीभद्र आचार्य बताउनुहुन्छ । नगरपालिकामा आउने पाहुनालाई पनि मायाको चिनोको रुपमा बिर्के टोपी दिने व्यवस्था गर्ने भएको छ । बिर्के टोपी उत्पादन गर्नका लागि स्थानीयलाई सीपमूलक तालिम संचालन गर्ने तयारी थालेको प्रमुख प्रशाकिय अधिकृत राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो ।

बिर्के टोपी एउटा विम्ब मात्र हो । भानुभक्तको वास्तविक सम्मान गर्न नेपाली भाषामा आई लागेका अरु खालका संकटको पहिचान र संवर्द्धनको पहल गर्न पनि त्यत्तिकै आवश्यक छ ।

 


प्रतिक्रिया