कास्की फुटबल संघका अध्यक्ष गुरुङ पनि पक्राउ

माघ १०, २०७६ | पोखरा

कास्की फुटबल संघका अध्यक्ष मिलन गुरुङ पक्राउ परेका छन् । केही ठगी र बैंकिङ कसुर मुद्दामा उनलाई शुक्रबार पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । 

मिलन गुरुङविरुद्ध बैंकिङ कसुर र ३ वटाज ठगी मुद्दा परेकाले पक्राउ गरिएको हो’ कास्की प्रहरीका प्रवक्ता डीएसपी राजकुमार केसीले भन्नुभयो, ‘जाहेरीवालाको नाम भन्न मिल्दैन ।’

बक्यौता रकम तिर्नुको सट्टा मिलन गुरुङले आइतबार पोखरा क्रियटिभ अवार्ड हाउसका सञ्चालकलाई हातपात गरेका थिए । मिलन पटकपटक झगडामा मुछिँदै आएका छन् । 

प्रतियोगिता गर्ने, रकम बुझाउँनुपर्ने ठाउँमा नबुझाउँने र पैसा माग्दा गुण्डागर्दी शैली प्रदर्शन गरेर कुटपिटमै उत्रिने उनको स्वभाव रहँदै आएको छ । 

मनकामना पोखरा कप फुटबल प्रतियोगिताको अघिल्ला केही संस्करणका तिनुपर्ने रकम बाँकी रहेको उनीमाथि आरोप छ । क्रियटिभ हाउसका सञ्चालक रामकृष्ण पौडेलका अनुसार संघबाट उनले १० लाख रुपैयाँ पाउनुपर्ने छ । 

आइतबार केही सामान लिन मिलन क्रियटिभ अवार्ड हाउस पुगेका थिए । सञ्चालक पौडेलले पहिलेको बक्यौता रकम मागेपछि गुरुङ हातपातमै उत्रिएका थिए । 

पौडेलले पनि आइतबार जिल्ला प्रहरी कार्यालयमा गुरुङ विरुद्ध ठाडो उजुरी दिएका थिए । मिलन पछिल्लो समय गण्डकी प्रदेशसभा सदस्य दिपक मनाङे भनिने राजिव गुरुङको थप्पड खाएर चर्चामा थिए । 

मनाङविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दामा मिलनले जाहेरी दिएपछि दिपक मनाङे पनि बिहीबार पक्राउ परेका थिए । 


प्रतिक्रिया