भारतमा चरेश सहित दुई नेपाली पक्राउ

माघ २०, २०७६ | दार्चुला

भारतको उत्तराखण्ड प्रहरीले ८ किलो चरेश सहित दुई नेपालीलाई पक्राउ गरेको छ । उत्तराखण्ड प्रहरीको विशेष अपरेशन समूहले माघ १६ गते धारचुला नगरको आर्मी चोकबाट ४० वर्षीय प्रेमसिह ठेकरे र ५५ वर्षीय पदमसिंह ठेकरेलाई पक्राउ गरेको हो । 

पक्राउ परेका दुबै जना नौगाड गाउँपालिका १ इयरकोटका बासिन्दा हुन् । प्रेमसिह ठेकरेको झोलाबाट चार किलो ५ सय २२ ग्राम र पदम सिंह ठेकरेको झोलाबाट तीन किलो १ सय ५८ ग्राम चरेश बरामद गरिएको उत्तराखण्ड प्रहरीले जनाएको छ । 

नेपालबाट भारतको पिथौरागढ लगेर चरेश बिक्री योजना उनीहरुको थियो । दुबै जनालाई गाडी चढ्दै गरेको अवस्थामा प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुबैजना विरुद्ध लागूऔषध ओसारपोसार सम्बन्धी एनडीपीएस एक्ट अन्तर्गत मुद्दा चलाइएको उत्तराखण्ड प्रहरीले जनाएको छ । 

बरामद गरिएको चरेशको मूल्य सात लाख भारतीय रुपैयाँ रहेको प्रहरीको भनाई छ । दार्चुला नाकाबाटै चरेश भारत लगिएको आशंका गरिएको छ । भारतको धारचुलामा चरेशसहित दुई जना पक्राउ गरिएको खबरपछि खलंगास्थित सीमा नाकाको चेकजाँचमा कडाइ गरिएको छ । 

नेपालतर्फ पनि सुरक्षा चेकजाँच र निगरानी बढाइएको दार्चुला प्रहरी प्रमुख डीएसपी दीपेन्द्र शाहीले बताउनुभयो । 


प्रतिक्रिया