वन्यजन्तुको आखेटोपहार सहित पोखराबाट एक पक्राउ

आश्विन ७, २०७७ | पोखरा

विभिन्न वन्यजन्तुको आखेटोपहार सहित प्रहरीले पोखराबाट मंगलबार साँझ एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका–४ का २८ वर्षीय सन्तोष लामिछाने रहेका छन् । 

आखेटोपहारको अवैध ओसारपसार र कारोबार हुँदै गरेको सूचनाका आधारमा कास्की जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले उनलाई पोखरा महानगरपालिका–३१ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

कास्की प्रहरीको प्रवक्ता डीएसपी सुवास हमालका अनुसार लामिछानेको साथबाट चितुवाको छाला १, सालकको खपेटा १ वन्यजन्तुको हाड, खुट्टा तथा पञ्जा ३ किलो ७ सय ५० ग्राम बरामद भएको छ । 

उनलाई थप अनुसन्धान र कारवाहीका लागि डिभिजन वन कार्यालय कास्कीमा पठाइएको छ । शिशुवाबाट वनपोखरी तर्फ जाने क्रममा प्रदेश ३–०२–०११ प ७८०६ नम्बरको मोटरसाकलमा जेब्रा झोलामा लुकाइ राखेको अवस्थामा सो सामान बरामद भएको हो ।

डिभिजनल वन अधिकृत केदार बरालले लामिछानेलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन २०२९ अनुसार कारबाही प्रक्रिया अघि बढाएको बताउनुभयो । ‘बरामद भएका आखेटोपहार परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाउँछौ’ उहाँले भन्नुभयो, ‘त्यसपछि जिल्ला अदालतमा मुद्दा पेश गर्छौ ।’ उहाँका अनुसार प्रारम्भिक अनुसन्धानका लामिछाने वन्यजन्तुको अवैध व्यापारमा संलग्न व्यक्ति हुन् । 


प्रतिक्रिया