रुक्मीणि हस्पिटलका सञ्चालक पनि पूर्पक्षमा

मंसिर ११, २०७७ | रुकुम पुर्व

रुकुम पुर्वको अस्थायी सदरमुकाम रुकुमकोटमा सञ्चालित रुक्मीणि हस्पिटलका सञ्चालक प्रकाश नेपाली पूर्पक्षका लागि कारागार चलान भएका छन् । अवैध गर्भपतन गराउने क्रममा एक महिलाको मृत्यु भएपछि सञ्चालक नेपालीलाई पनि रुकुमकोट जिल्ला अदालतले पूर्पक्षका लागि कारागार पठाउने आदेश गरेको हो । 

जिल्ला न्यायाधीस सनतचन्द्र लवटको इजलाशले अर्की सञ्चालक अरुणिमा बुढाथोकीलाई तीन लाख धरौटीमा छाड्ने आदेश गरेको छ । फरार सूचीमा रहेका उनीहरु केही दिन अघि आफैं अदालत उपस्थित भएका थिए । अदालतले यस अघि सो अस्पतालमा कार्यरत डा. रुपेशकुमार सिङ र ती महिलाका प्रेमी गणेश घर्तीलाई पूर्पक्षका लागि कारागार पठाइसकेको छ ।

गत साउन २० गते राती सवा ८ बजे २६ वर्षीया पुष्पा घर्तीको गर्भपतन गराउँदा उनको र पेटमा रहेको २२ हप्ताको बच्चाको मृत्यु भएको थियो । अवैध गर्भपतन गराउँदा अत्याधिक रक्तश्राव भएर महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । पुष्पासँगै उनको पेटमा रहेको बच्चाको समेत मृत्यु भएपछि डा. सिङ र घर्ती पक्राउ परेका थिए । सोही क्रममा फरार सूचीमा रहेका नेपाली र बुढाथोकी आफैं अदालत उपस्थित भएका थिए । 


प्रतिक्रिया