हत्या अभियोगमा फरार अभियुक्त १३ वर्षपछि पक्राउ

मंसिर १४, २०७७ | सुनसरी

हत्या अभियोगमा फरार अभियुक्त १३ वर्षपछि सुनसरीबाट पक्राउ परेका छन् । सुनसरी जिल्ला अदालतले हत्या अभियोगमा २० वर्ष कैद सजायँ सुनाएपछि फरार रहेका इटहरी उपमहानगरपालिका बस्ने ३२ वर्षीय कृष्णकुमार धामीलाई १३ वर्षपछि प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार एकम्बामा २०६४ साल बैशाख २९ गते भएको हत्या घटनाका फरार प्रतिवादी धामीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । साथीको विवाहमा उनीसहित जन्ती गएका पाँच जनाले सुनसरीको साविक चाँदबेला ७ मधेसा टोलस्थित प्रभुराम चौधरीको घर अगाडि साविक एकम्बा गाविस ४ का सुरेन कुमार ठाकुरको हत्या गरेका थिए । 

छुरा प्रहारपछि गम्भीर घाइते ठाकुरलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याएर उपचार गर्दागर्दै मृत्यु भएको थियो । बेहुलीको घरमा स्वयंवर हुँदै गर्दा ठाकुरलाई छुरा प्रहार गरी हत्या गरेपछि उनीसहित पाँचै जना फरार भएका थिए । 

स्वयंवरको बेला बेहुलीको अगाडि उभिएको भन्ने निहुमा विवाद हुँदा ठाकुरको हत्या भएको प्रहरीले जनाएको छ । ठाकुरको हत्या गर्दा धामीको उमेर १९ वर्षको थियो । ठाकुरको मृत्यु भएपछि उनको बुबाले जिल्ला प्रहरी कार्यालय सुनसरीमा कर्तव्य ज्यान मुद्दा दर्ता गरेपछि धामीको खोजी भईरहेको थियो । 

रामधुनी नगरपालिका–६, घर भएपनि धामी उर्लाबारीमा डेरा गरी बस्दै आएका थिए । फरार धामीलाई प्रहरीले मोरङको उर्लाबारी नगरपालिका–५ बाट शुक्रबार पक्राउ गरी आइतबार अदालतको आदेश अनुसार कैद भुक्तानको लागि सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागार पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 


प्रतिक्रिया