बैंकको एटीएम मेसिन फुटाएर चोरी गर्ने एक पक्राउ

पुस २८, २०७७ | सुनसरी

सुनसरीको धरान उपमानगरपालिका–१२ महेन्द्र पथस्थित एनआइसी एसिया बैंकको एटीएम मेसिन फुटाएर चोरी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोशी गाउँपालिका–३ कोशीकटान जुद्धगञ्ज घर भई धरान–३ पुरानो बजारमा डेरा गरी बस्ने २३ वर्षीय सुभान मन्सुरी रहेका छन् । 

गत आइतबार साँझ करीब ७ बजे एनआइसी एसिया बैंकको कार्यालय अगाडिको एटीएम मेसिन फुटाएर नगद झिक्न खोजेपनि नसकेपछि फरार थिए । इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक (डीएसपी) ज्ञानेन्द्र बस्नेतका अनुसार एटीएम मेसिन फुटाए पनि नगद भने निकाल्न नसकेपछि मन्सुरी फरार रहेका थिए । 

बैंकको एटीएम मेसिन भएको स्थानमा जडान गरेको सिसिटिभि क्यामेराको फुटेज हेरेर चोरीमा संलग्न व्यक्तिको खोजी गर्ने क्रममा धरान– १८ स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाता भित्रबाट मन्सुरीलाई फेला पारेर पक्राउ गरिएको डीएसपी बस्नेतले बताउनुभयो । 

मन्सुरी यसअघि गाउँमै पनि चोरी घट्नामा पटक पटक पक्राउ परेका थिए । उनलाई मंगलबार नै चोरी उद्योग कसुरमा मुद्दा दर्ता गरिएको र जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको डीएसपी बस्नेतले बताउनुभयो । 


प्रतिक्रिया