मन्दिरको सुन चोरीको आरोपमा बैतडीबाट थप २ पक्राउ

श्रावण ९, २०७८ | बैतडी

बैतडीको दोगडाकेदार गाउँपालिका–१ रिमस्थित लटिनाथ मन्दिरको ९ तोला सुन चोरीको आरोपमा थप २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका–१ का लाल बहादुर कार्की, हरिकृष्ण सार्की रहेका छन् । 

चोरी गरेको सुन खरिद गरेका दार्चुलाको शैल्यशिखर नगरपालिकाका सुनचाँदी व्यवसायी भुवनसिंह साहुलाई पनि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताउनुभयो । 

यसअघि स्थानीय धनबहादुर कार्की र केशव सार्कीलाई गत असार २४ गते नै प्रहरीले नियन्त्रणमा लिएको थियो । दुई जनाको बयानको आधारमा अन्य ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लटिनाथ मन्दिरमा रहेको सुन गत पुषमा चोरी भएपनि असारमा मात्र प्रहरीमा उजुरी परेको थियो । 

पक्राउ परेकाबाट पौने चार तोला सुन बरामद भएको प्रहरीले जनाएको छ । पूजारीले ९ तोला सुन रहेको बताएका छन् । चोरी कार्यमा संलग्नमाथि चोरी मुद्दा दर्ता भएर अनुसन्धान भइरहेको छ । पूजारी नैनराम सार्कीको घरमा राखेको सुन चोरी भएको थियो ।


प्रतिक्रिया