'हनी ट्रयाप'मा पारेर पैसा असूलेको अभियोगमा दाङबाट ३ महिला पक्राउ

हनी ट्रयापमा पारेर पैंसा असूलेको अभियोगमा पक्राउ परेका घोराहीका ३ महिलालाई जिल्ला प्रहरीमा सार्वजनिक गरिंदै । तस्बिर : दुर्गालाल केसी/रेडियो कान्तिपुर । 

आश्विन ३, २०७८ | दाङ

एक पुरुषलाई हनी ट्रयापमा पारेर पैसा असूलेको अभियोगमा दाङबाट तीन जना महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ का ३२ वर्षीया सितादेवी थापा, ३५ वर्षीया खुमा वली र ३२ वर्षीया सुस्मा परियार रहेका छन् ।

एक व्यवसायीलाई होटेलमा खाजा खान बोलाएर बलात्कारको मुद्दा हाल्ने धम्की दिई १८ लाख रुपैयाँ असूलेको अभियोगमा उनीहरुलाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको हो । उनीहरुले घोराहीका एक व्यवसायीबाट १ लाख रुपैयाँ र १७ लाखको चेक बुझेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सुरेश प्रसाद काफ्लेले बताउनुभयो । 

उनीहरुले सुरुमा ५० लाख रुपैयाँ बार्गेनिङ गरेको र अन्तमा १८ लाख रुपैयाँमा कुरा मिलाएको अनुसन्धानबाट खुलेको एसपी काफ्लेले जानकारी दिनुभयो ।

उनीहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ को ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसूरको दफा २५३ को उपदफा (१) र (२) बमोजिम कसूर गरेको अभियोगमा मुद्दा दर्ता हुने जिल्ला प्रहरी कार्यालयका डीएसपी मुकुन्दप्रसाद रिजालले बताउनुभयो । 

उपदफा (३) ख बमोजिम कसैको व्यवसायमा गैरकानूनी तरिकाले कुनै क्षति पुर्‍याउने वा चरित्रमा झुठो दोष लगाउने नियतले डरत्रास देखाई आपराधिक लाभ लिएमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको प्रावधान रहेको छ ।


प्रतिक्रिया