मानसिङको नाममा तीन विश्व रेकर्ड

आश्विन ७, २०७८

रुकुम पश्चिमका मानसिंह ओलीले तीन वटा विश्व रेकर्ड राखेका छन् । यस अघि एउटामा विश्व रेकर्ड राखेका उनले पछिल्लो पटक थप २ विश्व रेकर्ड राखेका हुन् । आठबीसकोट नगरपालिका–११, चौरका २० वर्षीय ओलीले भर्खरै २ विश्व रेकर्ड आफ्नो नाममा राखेका हुन् । असोज ४ गते काठमाडौंको बानेश्वर स्थित शान्तिनगरमा भएको कार्यक्रमबाट ओलीले औलामा सबैभन्दा लामो समय प्लेट घुमाउने र गिनिज बुक अफ वल्र्ड रेकर्डको किताब औलाले घुमाएर सबैभन्दा बढी फन्को लगाउने रेकर्ड बनाएका हुन् । उनले ४ घण्टा ४ मिनेट ४४ सकेण्डसम्म प्लेट औंलामा घुमाउने रेकर्ड आफ्नो नाममा दर्ता गरेका छन् । यसअघि सो रेकर्ड भारतका हिमान्सु गुप्ताको नाममा थियो । उनले २ घण्टा १० मिनेट ४ सकेण्डमा यो रेकर्ड राखेका थिए । यो रेकर्ड ओलीले तोडेका छन् ।

त्यस्तै ओलीले गिनिज बुक अफ वल्र्ड रेकर्डको १२ सय ग्राम तौल भएको किताब हातको औंलामा एक मिनेटमा ३ सय ५३ पटक घुमाएर रेकर्ड बनाएका छन् । यस अघि यो रेकर्ड नेपालकै राजन घिमिरेको नाममा थियो । घिमिरेले एक मिनेटमा ३ सय १५ पटक किताब घुमाएर रेकर्ड राखेका थिए । व्यालेन्स ग्रुप अफ कम्पनी र हिमालयन अर्गानिक मार्टको सहकार्यमा भएको कार्यक्रममा दुई विश्व रेकर्ड राख्न सफल भएको ओलीले जानकारी दिए । यो सँगै ओलीको नाममा तीन वटा विश्व रेकर्ड कायम भएका छन् । ओलीले यसअघि गिनिज बुक अफ वल्र्ड रेकर्डको किताब हातको एउटा औंलामा ३ घण्टा ४० मिनेटसम्म घुमाएर विश्व रेकर्ड कायम गरेका थिए । पछिल्लो पटक उनले उक्त आफ्नै रेकर्ड पनि तोडेका छन् । 


प्रतिक्रिया