धरानको एक होटलमा महिला मृत भेटिए

फाल्गुन १७, २०७८ | सुनसरी

सुनसरीको धरान उपमहानगरपालिका–१८ बुद्धचोकस्थित न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसमा एक महिला मृत भेटिएकी छन् । मृतक पाँचथरको मिक्लाजुङ–१ की ३९ वर्षर्ीया सुमित्रा तामाङ रहेको पुष्टि भएको छ । 

धरान–१८ बुद्धचोकस्थित न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसको कोठा सफा गर्न गएका बेला होटलका कर्मचारीले तामाङलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

धरानस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरका अनुसार मृतक महिलाको साथबाट नागरिकता फेला परेपछि सोही ठेगानामा खोजी गर्दा उनकी छोरी र छोराबाट पहिचान खुलेको हो । 

ती महिलाका श्रीमान भारतीय सेनाका पूर्व गोर्खा सैनिक रहेको र हाल ब्रुनाईमा कार्यरत रहेको खुलेको छ । होटल सञ्चालक सुशिल जिमीका अनुसार दुई दिनदेखि ती महिला एक पुरुषसँगै होटलमा बस्दै आएका थिए । 

बिहान सरसफाइ गर्ने क्रममा ढोकाको चुकुल नलगाएको देखेर कोठमा छिरेका कर्मचारीहरुले ती महिलालाई मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए । आफूहरु विगत ५ वर्षदेखि इटहरी उपमहानगरपालिका–५ तुलसा टोलमा बस्दै आएको मृतक तामाङकी छोराछोरीले बताएका छन् । 

मृतकको अनुहारमा चोट समेत देखिएकाले उनको हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ । तामाङसँगै दुई दिनदेखि सोही कोठामा बस्दै आएका पुरुषको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक कुँवरले बताउनुभयो । महिलाको शव पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको छ ।


प्रतिक्रिया