वन्यजन्तु चोरी शिकारमा संलग्न २ मुस्ताङबाट पक्राउ

पुस ४, २०७९ | पोखरा

वन्यजन्तुको चोरी शिकारमा संलग्न रहेको आरोपमा मुस्ताङ प्रहरीले २ जनालाई पक्राउ गरेको छ । मुस्ताङ प्रहरीका निरीक्षक गोपीकृष्ण सुवेदीका अनुसार पक्राउ पर्नेमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका शंकरमान गौचन र यामबहादुर थापा रहेका छन् । 

चोरी शिकारमा संलग्न अर्का एक जनाको भने भीरबाट लडेर मृत्यु भएको मुस्ताङ प्रहरीले जनाएको छ । मुस्ताङको थासाङ गाउँपालिका–५ ताक्लुङका महेश भन्ने चन्द्रलाल तुलाचनको भीरबाट खसेर मृत्यु भएको उनीहरुले प्रहरी समक्ष बयान दिएका छन् । 

मंसिर २६ मा थासाङ–४ स्थित निवेक क्षेत्रमा पर्ने डाँडाखर्कको भीरमा उनीहरु शिकार गर्न गएका थिए । उनीहरुले एउटा झारलको पोथी (तिवाइ) लाई गोली प्रहार गरी मारे । मारिएको तिवाई बोकी ल्याउने क्रममा भीरबाट लडेर चन्द्रलालको मृत्यु भएको थियो । 

झारलको पोथी, शिकार खेल्न प्रयोग गरिएको एउटा २२ हर्नेट राइफल, त्यसमा प्रयोग हुने म्यागजिन र १३ राउन्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ । मंसिर २९ मा पक्राउ परेका दुबै जनालाई हातहतियार तथा खरखजाना मुद्दामा मुस्ताङ जिल्ला अदालतबाट प्रहरी हिरासतमा राख्ने अनुमति लिइ अनुसन्धान भइरहेको छ । 

साथै उनीहरुविरुद्ध वन्यजन्तुको अवैध चोरी शिकारी अन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाबाट समेत अनुसन्धान भइरहेको छ । वन्यजन्तकाुे चोरी शिकारी गर्ने क्रममा मानिसको ज्यानै समेत गएको भन्दै यस्ता किसिमका कार्यमा संलग्न नहुन तथा कोही संलग्न भए सूचना दिन पनि मुस्ताङ प्रहरीले अनुरोध गरेको छ । 


प्रतिक्रिया