मृत जरायो र हतियार सहित पर्साबाट ५ सिकारी पक्राउ

पुस ५, २०७९ | वीरगञ्ज

पर्सा राष्ट्रिय निकुञ्जमा सिकार गर्न गएका ५ जना सिकारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिकाको अकवनियाका झापस दास थारु, नवराज बस्नेत, काभ्रे घर भई अनवनिया बस्ने दामोदार अधिकारी, खजुरिया निवासी मालदोङ तामाङ र विकास सहनी छन् । 

सखुवाप्रसौनी गाउँपालिकाको अकवनियास्थित राष्ट्रिय वनमा सिकार खेल्न गएका ५ जनालाई निकुञ्ज प्रशासन र नेपाली सेनाको संयुक्त गस्ती टोलीले सोमबार राति नियन्त्रणमा लिएको हो । 

पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सूर्य खड्काका अनुसार ‘महा–हन्ट’ अभियान अन्तर्गत निकुञ्ज प्रशासन र सेनाको संयुक्त गस्ती टोलीले सोमबार राति ५ जना सिकारीलाई पक्राउ गरेको हो । राष्ट्रिय निकुञ्ज तथा संरक्षण ऐन २०२९ बमोजिम उनीहरुमाथि अनुसन्धान अगाडि बढाउने उहाँले बताउनुभयो । 

‘विशेष गरी जाडोमा महा–हन्ट अभियान सञ्चालन हुनेगर्छ,’ उहाँले भन्नुभयो, ‘महाहन्ट अभियान अन्तर्गत नै ५ जना सिकारी निन्यक्रणमा लिइएको हो ।’ निकुञ्जका सूचना अधिकारी खड्काका अनुसार सिकारीहरु ल्यान्ड त्रुजर र बोलेरो जिपमा जंगल छिरेका थिए । 

उनीहरुको साथबाट एउटा मृत पोथी जरायो, एउटा भाले जरायोको टाउको, १२ बोरको बन्दुक एक थान, ९ थान गोली, आधुनिक हातियार राख्ने एउटा झोला, रातको समयमा हेर्ने दुरबिन, आइफोन १४ म्याक्स, २ लाख ९० हजार रुपैयाँ, एक हजार दुई सय भारतीय रुपैयाँ बरामद भएको खडकाले जानकारी दिनुभयो ।

‘उनीहरु पेसेवर सिकारी नै हुन्,’ खडकाले भन्नुभयो, ‘नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको छ, जंगल क्षेत्रमा गस्ती समेत बढाइएको छ ।’


प्रतिक्रिया