१२ लाख रुपैयाँसहित दुई हुण्डी कारोबारी पक्राउ

जेष्ठ २०, २०८२ | पर्सा
हुण्डी कारोबारमा संलग्न रहेका एक भारतीय नागरिक सहित २ जनालाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ । हुण्डी कारोबारी पर्साको पकाहामैनपुर गाउँपालिका–२ का २५ वर्षीय सुरेश कुमार बर्णंवाल र भारत विहारका १९ वर्षीय सत्यम कुमारलाई प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा आइतबार दिउँसो परवानीपुर प्रहरी चौकीबाट खटिएको टोलीले उनीहरुलाई वीरगञ्जबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिनुभयो ।
सवारी साधन चेकजाच गर्ने क्रममा वीरगञ्ज महानगरपालिका–२१ स्थित परवानीपुर चोकमा मधेश प्रदेश ०३–०२९ प ४९७४ नम्बरको मोटरसाईकलमा सवार दुबै जनालाई शंका लागेर चेकजाँच गरेको थियो ।
त्यसक्रममा बर्णवालले बोकेको झोलाभित्र लुकाइ राखिएको अवस्थामा १ हजार दरको नेपाली नोट ७ सय ७१ थान गरी ७ लाख ७१ हजार र पाँच सय दरका ८ सय ५८ थान गरी चार लाख २९ हजार रुपैयाँ गरी १२ लाख रुपैयाँ फेला परेको हो ।
पक्राउ परेका दुबै जनाविरुद्ध मुलुकी अपराध संहिता २०७४ बमोजिम हुण्डी सम्बन्धी कारोबारमा मुद्दा चलाइएको डीएसपी लम्सालले जानकारी दिनुभयो ।