तनहुँमा टिपरले स्कूटरलाई ठक्कर दिँदा महिलाको मृत्यु, २ घाइते
माघ २१, २०८१ | तनहुँ
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ मालेबगरमा टिपरको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । दुर्घटनामा कास्कीको पोखरा महानगरपालिका–३२ निवासी ४१ वर्षीया अप्सरा क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
खैरेनीटारबाट दमौलीतर्फ आउँदै गरेको ग १ क ५८९६ नम्बरको टिपरले विपरीत दिशामा रहेको प्र.३ ०१–०२२ च ६७७८ नम्बरको कार र ग १८ प ७७५२ नम्बरको स्कूटरलाई ठक्कर दिएको थियो ।
टिपरको ठक्करबाट घाइते भएकी क्षेत्रीलाई उपचारका लागि जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
स्कूटर चालक २१ वर्षीय दिपेश कुमार क्षेत्री घाइते भएका छन् । मृतक क्षेत्री स्कूटर चालकका आमा भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।
यस्तै, कार चालक शुक्लागण्डकी नगरपालिका–११ साँखेका ३१ वर्षीय महेश पौडेलको दाहिने हातमा सामान्य चोट लागेको छ । उनलाई उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ । टिपर चालक धादिङ निलकण्ठ–२ भुलभुलेका ४० वर्षीय प्रकाश गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।