गौतम बुद्ध क्रिकेट रंगशालाका लागि ७ करोड १४ लाख रुपैयाँ सहयोग

 तस्बिर : रमेशकुमार पौडेल, रेडियो कान्तिपुर ।

जेष्ठ २७, २०७७ | चितवन

धुर्मुस-सुन्तली फाउण्डेशनले चितवनमा बनाउने अस्तराष्ट्रिय स्तरको गौतम बुद्ध क्रिकेट रंगशालाका लागि सहयोग जुटाउन आयोजना भएको धार्मिक महोत्सवमा संकलन भएको रकम हस्तान्तरण गरिएको छ । महोत्सवबाट उठेको ७ करोड १४ लाख ५६ हजार ६ सय ८४ रुपैयाँ आज फाउण्डेशनलाई हस्तान्तरण गरेको आयोजक समितिका संयोजक विजय सुवेदीले जानकारी दिनुभयो ।

गत माघ १९ गतेदखि २७ गतेसम्म रंगशाला निर्माण स्थलमै महायज्ञ भएको थियो । आयोजक समितिका महासचिव दिनेश चुकेका अनुसार महायज्ञका बेला संकलन भएको नगद सहयोग फाउण्डेशनका कलाकार सिताराम कट्टेललाई हस्तान्तरण गरिएको हो ।

चुकेका अनुसार महोत्सवमा बिभिन्न दाताहरुले थप ६१ करोड ५० लाख ७९ हजार ४ सय ९१ रुपैयाँ रंगशालाका लागि सहयोगको वचन दिएका छन् ।

जसमा सरकारी क्षेत्रले ५१ करोड ६० लाख ३० हजार ८३२ रुपैयाँ र निजी क्षेत्रले नौ करोड ९० लाख ४८ हजार ६५९ रुपैयाँ दिने भनेर कबोल गरेको महासचिव चुकेले जानकारी दिनुभयो । सवैभन्दा धेरै बागमती प्रदेश सरकारले ३० करोड रुपैयाँ दिने कबोल गरेको छ ।

त्रिभुवन विश्व विद्यालयको नाममा रहेको र कृषि तथा वन विज्ञान विश्व विद्यालयले भोग चलन गर्दै आएको भरतपुर–१५ रामपुरमा रहेको २० विघा जमिनमा रंगशाला बन्दै छ । दुई विश्व विद्यालयले सो जग्गा भरतपुर महानगरलाई रंगशाला बनाउन सहमति दिएका थिए । ७५ सालको माघ १६ मा सो जग्गामा रंगशाला बनाउन भरतपुर महानगर र फाउण्डेशनबीच सहमति भएको थियो ।


प्रतिक्रिया