ओल्फवर्ग विरुद्धको खेलमा बायर्नको फराकिलो जित

असार १४, २०७७ | काठमाडौं

कीर्तिमानी ३० औं पटक जर्मन बुन्डेस लिगा जितेको बायर्न म्युनिखले सिजनको अन्त्य फराकिलो जितबाट गरेको छ । जारी सिजनको अन्तिम खेलमा बायर्नले गएराति ओल्फवर्गलाई ४–० गोल अन्तरले हरायो ।

दुई खेल अघि नै लिग च्याम्पियन बनिसकेको बायर्नको जितमा किङ्सले कोम्यान, माइकल कुइसान, रोबर्ट लेवान्डोस्की र थोमस मुलरले गोल गरे । 

खेलको ७१ औं मिनेटमा जोसुवाले रातो कार्ड खाँदै मैदानबाट बाहिरिए पछि ओल्फवर्ग १० खेलाडीमा घटेको थियो । 

माइकल कुइसानलाई पेनाल्टी क्षेत्रमा लडाएपछि रेफ्रीले उनलाई रातो कार्ड र बायर्नलाई पेनाल्टी दिएका थिए ।

बायर्नले यो सिजन ३४ खेलबाट ८२ अंक जोड्यो । उसले २६ जित, ४ बराबरी र ४ हार बेहोरेको छ । 

बायर्नले विपक्षी टिमविरुद्ध कुल एक सय गोल समेत गर्‍यो । जर्मन बुन्डेस लिगाको यो सिजन फोर्टुना डुसलडोर्फ र पार्डाबोन रेलिगेसनमा परेका छन् ।

यसैबीच, बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्की बुन्डेस लिगाका सर्वाधिक गोलकर्ता बनेका छन् । यो सिजन उनले ३४ खेलमा ३४ गोल गरे ।  


प्रतिक्रिया