सुपर लिगको पहिलो खेलमा ईङल्याण्डको सहज जित

श्रावण १६, २०७७ | एजेन्सी

आईसीसी पुरुष विश्वकप क्रिकेट अन्तर्गत सुपर लिगको पहिलो खेलमा ईङल्याण्ड विजयी भएको छ । आयरल्याण्डबिरुद्धको सिरिजको पहिलो खेलमा ६ विकेटको शानदार जित निकाल्दै ईङ्ल्याण्डले लिगमा सुखद सुरुवात गरेको हो । जितसँगै तीन म्याचको सिरिजमा ईङल्याण्ड १–० ले अघि बढेको छ ।

साउथहेम्प्टनमा आयरल्याण्डले दिएको १ सय ७३ रनको सामान्य लक्ष्य घरेलु टोलीले २७ दशमलब ५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । साम विलिङस ६७ र कप्तान ईयोन मोर्गन ३६ रनमा अविजित रहँदै टोलीको जित निश्चित पारे । जेम्स भिन्सले २५ र जेसन रोएले २४ रनको योगदान गरे । आयरल्याण्डका क्रेग योङले २ तथा एण्डी म्याकब्रिने र कुर्टिस क्याम्पेरले समान एक विकेट लिए ।

यसअघि टस जितेको ईङ्ल्याण्डले फिल्डिङ रोजेपछि व्यटिङमा आएको भ्रमणकारी टोली ४४ दशमलब ४ ओभरमा १ सय ७२ रनमा समेटिएको थियो । निक्कै कमजोर सुरुवात गरेको आयरिस ईनिङस पछिल्लो क्रमका ब्याट्सम्यानले उकासेका थिए । आठौं विकेटका लागि कुर्टिस क्याम्पेर र एण्डी म्याकब्रिनेले ६६ रनको साझेदारी गरे । क्याम्पेर ५९ रनमा अबिजित रहदा म्याकब्रिनेले ४० रन बनाए । गारेथ डिलनी र केभिन ओब्रायनले समान २२ र क्रेग योङले ११ रन बनाएको ईनिङसमा अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

उसलाई सामान्य स्कोरमा समेट्न डेभिड विल्लीले ५ तथा साकिब मसुदले २ विकेट लिए । टम कुरान र आदिल रसिदको नाममा समान एक विकेट रह्यो । यी दुई राष्ट्रबीचको दोस्रो खेल शनिबार हुनेछ । 


प्रतिक्रिया