नेयमारको ह्याट्रिकमा ब्राजिलको जित

आश्विन २८, २०७७ | काठमाडौं

विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा ब्राजिलले पेरुलाई ४–२ गोल अन्तरले पराजित गरेको छ । पेरुको मैदानमा नेयमारको ह्याट्रिकमा ब्राजिलले जित निकालेको हो ।

खेलमा अग्रता भने पाँचौ मिनेटमा आन्द्रे कारिल्लोको गोलमा पेरुले लिएको थियो । २८ औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई बराबरीमा पुर्याएका थिए । ५९ औं मिनेटमा रेनाटो टापियाले गोल गर्दै पेरुलाई दोस्रो पटक अग्रता दिलाए । 

६४ औं मिनेटमा रिचार्लीसनले गोल गर्दै ब्राजिललाई बराबरीमा पुर्याएका थिए । ८३ औं मिनेटमा पाएको पेनाल्टीको अवसरमा नेयमारले जाली चुमाउदै टोलीलाई ३–२ को अवस्थामा पुर्याए । ईन्ज्युरी समयमा अर्को गोल थप्दै नेयमारले ह्याट्रिकसँगै टोलीलाई महत्वपुर्ण अंक दिलाए ।

अर्को खेलमा चिली र कोलम्बियाले २–२ को बराबरी खेलेका छन् । अन्तिम समय सम्हालिन नसक्दा चिली अंक बाँड्न बाध्य भयो । चिलीका अतुरो भिडाल र एलेक्सीस सान्चेजले गोल गरेका थिए । कोलम्बियाका जेफर्सन लिर्मा र राडामेल फाल्काओले गोल गरे । अर्जेन्टिना, पाराग्वे र ईक्वेडर विजयी भएका छन् । 

बोलिभियालाई २–१ ले हराउँदै अर्जेन्टिनाले छनोटमा लगातार दोस्रो जित हात पारेको हो । घरेलु मैदानमा खेलको २४ औं मिनेटमा मार्सेलो मार्टिन्सको गोलमा अग्रता बनाएको बोलिभियाले पहिलो हाफको अन्तिम समयमा गोल खाएको थियो । लाउतारो मार्टिनेजले ४५ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई बराबरीमा पुर्याएका थिए ।

७९ औं मिनेटमा जोवाकीन कोरियाले गोल गर्दै टोलीलाई जित दिलाए । २ खेलबाट अर्जेन्टिना ६ अंकमा शीर्ष स्थानमा छ । 


प्रतिक्रिया