कोलकत्तालाई ८ विकेटले हराउँदै मुम्बई आईपीएलको शीर्ष स्थानमा

कार्तिक १, २०७७ | काठमाडौं

कोलकत्ता नाइट राईडर्सलाई ८ विकेटले पराजित गर्दै मुम्बई इण्डियन्स, इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको शीर्ष स्थानमा फर्किएको छ । 

युएईको आबुधाबीस्थित शेख जायेद रंगशालामा गएराती भएको खेलमा कोलकत्ताले दिएको १ सय ४९ रनको लक्ष्य मुम्बईले १६ दशमलव ५ ओभरमा २ विकेट गुमाएर भेट्टायो । उसका क्विन्टन डी ककले ४४ बलमा ९ चौका र ३ छक्कासहित अविजित ७८ रन बनाउदै टोलीलाई सहज जित दिलाए । 

यस्तै, क्याप्टेन रोहित शर्माले ३५, हार्दिक पाण्डेयले नटआउट २१ र सूर्यकुमार यादवले १० रन बनाए । कोलकत्ताका शिभम माभी र वरुण चक्रवर्तीले १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले व्याटिङ गरेको कोलकत्ताले पूरा ओभर खेल्दा ५ विकेटको क्षतीमा १ सय ४८ रन मात्र बनाउन सक्यो । उसका लागि प्याट क्युमिन्सले नटआउट ५३ रन बनाए । यस्तै, इयोन मोर्गानले ३९ र शुभमन गिलले २१ रन जोडे । अन्यले दोहोरो अंकको स्कोर गर्न सकेनन् । 

मुम्बईका राहुल चाहारले २ तथा जशप्रित बुम्राह, ट्रेन्ट बोल्ट र नाथान कल्टर नेईलले १/१ विकेट लिए । ८ खेलको समाप्तिमा दिल्लीसँगै समान १२ अंक जोडेको मुम्बई राम्रो रनरेटका आधारमा शीर्षस्थानमा छ । कोलकाता ८ अंकसहित चौथो स्थानमा छ ।

आईपीएलमा आज २ खेल हुँदैछन् । पहिलो खेलमा अपरान्ह ४ बजे रोयल्स च्यालेन्जर्स बैंग्लोर र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । यस्तै, राती पौने ८ बजे दिल्ली क्यापिटल्स र चेन्नई सुपर किङ्गस् भिड्नेछन् । 


प्रतिक्रिया