राष्ट्रिय महिला हक्की प्रतियोगिता वीरगञ्जमा सुरु

माघ ४, २०७८ | वीरगञ्ज

सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको चौंथो संस्करण मंगलबारदेखि वीरगञ्जमा सुरु भएको छ । वीरगञ्जको आदर्शनगर खेल मैदानमा पहिलो दिनका दुई वटा खेलमा विभागीय टोली त्रिभुवन आर्मी र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् । 

पहिलो खेलामा आर्मीले मधेस प्रदेशलाई ५–० गोलले पराजित गरेको छ । आर्मीका खेलाडीले सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गरेका थिए । खेलको ११ औँ मिनेटमा आर्मीकी कमला चन्दले पहिलो गोल गर्दै अग्रता दिलाएकी थिइन् । 

आर्मीका लागि सीता माया बलले दुई गोल प्रहार गरिन् । उनले खेलको २२ औँ र ५८ औँ मिनेटमा गोल प्रहार गरेको थिइन् । आर्मीका लािग सीमा खड्का र निलिमा पान्डेले समेत एक/एक गोल प्रहार गरेका थिए । मधेस प्रदेशका खेलाडीले खाता खोल्न सकेनन् ।

यस्तै, मंगलबारै भएको दोस्रो खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ३–० गोलले पराजित गरेको छ । सुदूरपश्चिमका लागि तीन वटै गोल ममता भट्टले गरेको थिइन् । खेलको १३ औँ मिनेटमा गोल प्रहार गर्दै ममताले सुदूरपश्चिमलाई अग्रता दिलाईन् । 

तीन गोल गरेकी ममता भट्ट वुमन अफ दि म्याच घोषित भईन् । राष्ट्रिय महिला हक्की प्रतियोगितामा त्रिभुवन आर्मी, सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, प्रदेश १ र मधेस प्रदेश गरी ६ वटा टीमको सहभागिता रहेको छ । 

प्रतियोगिता लिगकम नकआउटको आधारमा हुनेछ । प्रथम, द्धितीय र तृतीय हुने टीमले क्रमश: ५० हजार, ३० हजार र १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सर्वाधिक गोलकर्ता, उत्कृष्ट रक्षक, उत्कृष्ट गोल रक्षक, समग्र प्रतियोगिताकै उत्कृष्ट खेलाडी र उदियमान खेलाडीले जनही ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । 

८ जना निर्णायकले प्रतियोगिता सञ्चालन गर्ने जनाइएको छ । यही प्रतियोगिताबाट राष्ट्रिय टोलीको छनोट गरिने नेपाल हक्की संघका वरिष्ठ उपाध्यक्ष अनिल प्रसाद शर्माले जानकारी दिनुभयो । 


प्रतिक्रिया