लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब फाइनलमा भिड्ने

चैत्र २५, २०७८ | पाल्पा

लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब प्रथम सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबलको फाइनल प्रवेश गरेका छन् । पाल्पाको तानसेनस्थित कालिगण्डकी नदीको किनारमा शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा लुम्बिनी प्रदेशले सुदुरपश्चिम प्रदेशलाई सोझो सेटमा पराजित गरेको छ ।

उसले २१–१७, २१–१४ को सोझो पराजित गर्दै फाइनल प्रवेश गरेको आयोजक सञ्जय स्मृति फाउण्डेसनकी अध्यक्ष निरोज मास्केले जानकारी दिइन् ।

लुम्बिनी प्रदेशले क्वार्टर फाइनलमा विभागीय टोली सशस्त्र प्रहरी बल एपीएफलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनल पुगेको थियो । गण्डकी प्रदेशविरुद्ध २१–१९, २१–१४ को नतिजामा जित निकाल्दै पुलिसले फाइनलमा स्थान पक्का गरेको छ ।

सेमिफाइनलमा पराजित भएका सुदुरपश्चिम र गण्डकी प्रदेश बिच तेस्रो स्थानका लागि शनिबार खेल हुनेछ । सेमिफाइनल समीकरण अन्तर्गत पहिलो खेलमा समूह ‘ए’को विजेता एपिएफलाई समूह ‘सी’को उपविजेता लुम्बिनीले १७–२१, १३–२१ को नतिजामा हराउंदै सेमिफाइनल प्रवेश गरेको हो ।

यस्तै, क्वार्टरफाइनलको दोस्रो खेलमा समूह ‘बी’को विजेता सुदूरपश्चिमले समूह ‘डी’ उपविजेता बागमती प्रदेशलाई २१–८, २१–७ को सोझो सेटमा हरायो । सुदूरपश्चिम भागरथी जोशी र बागमती मोनिका महतोको कप्तानीमा मैदान उत्रिएका थिए । तेस्रो खेलमा कमला पुन, मनिषा चौधरीको जोडी समूह ‘सी’ को विजेता पुलिसले जोडी अञ्जना लिम्बु र प्राची गौतमको समूह ‘ए’ को उपविजेता प्रदेश एकमाथि २१–१, २१–६ को सहज जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गर्यो ।

प्रतियोगिताको अन्तिम क्वार्टर फाइनल निकै रोमाञ्चक बनेको थियो । तीन सेटमा पुयेको खेलमा समूह ‘डी’ को विजेता गण्डकीले समूह ‘बी’ को उपविजेता कर्णालीलाई २१–१२, २१–२३, १५–८ को नतिजामा हराउंदै सेमिफाइनल समीकरण पूरा गरेको छ । प्रतियोगितामा ९ टिम सहभागी थिए । प्रतियोगिताको फाइनल र तेस्रो स्थानको खेलहरु शनिबार हुनेछ । फाइनल र तेस्रो स्थानको दुवै खेल शनिबार हुनेछ । बिहिबार देखि सुरु भएको प्रतियोगितामा दुई विभागिय र सात प्रदेश गरि नौं टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले एक लाख रुपैंया र उपविजेताले ५० हजार रुपैंया प्राप्त गर्नेछन् । तेस्रो हुनेले ३० हजार र उत्कृष्ट खेलाडीले २० हजार पाउने आयोजकले जनाएका छन् । 


प्रतिक्रिया