बंगलादेशसँगको मैत्रीपुर्ण म्याचका लागि राष्ट्रिय टोलीको घोषणा

आश्विन ६, २०७९ | काठमाडौं

काठमाडौंमा हुने बंगलादेशसँगको मैत्रीपूर्ण म्याचका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा भएको छ । राष्ट्रिय टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाँईले बन्द प्रशिक्षणमा रहेका ३० खेलाडी मध्येबाट अन्तिम २३ खेलाडी छनोट गरेका हुन् । टोलीमा दुई नयाँ खेलाडी सामेल गरेका हुमागांईले कप्तान भने केही दिनपछि घोषणा गरिने बताएका छन् । टोलीका चार जना गोलकिपर किरण चेम्जोङ, विशाल श्रेष्ठ, दिप कार्की र विकेश कुथु टोलीमा सामेल छन् ।

यस्तै, डिफेण्डरमा रोहित चन्द, अनन्त तामाङ, विकाश तामाङ, दिनेश राजवंशी, विकाश खवास, सुमन अर्याल र रेजिन धिमाल परेका छन् । मिडफिल्डर सुदिप गुरुङ, तेज तामाङ, शेसेहाङ आङदोम्बे, विशाल राई, सुजल श्रेष्ठ, सुरज ज्यू ठकुरी र यरीक विष्ट टोलीमा अटाएका छन् ।

त्यस्तै, फरवार्डमा विमल घर्ती मगर, अन्जन विष्ट, रितिक खड्का, मनिष डाँगी र आशिष चौधरी छन् । टोलीका लागि रितिक र आशिष नयाँ खेलाडी हुन् । यस्तै, पुर्व कप्तान नवयुग श्रेष्ठ टोलीमा छैनन् भने सुनिल बल इन्जुरीका कारण टोलीमा पर्न सकेनन् । नेपालले घटस्थापनाको भोलिपल्ट अर्थात् आगामी मंगलवार दशरथ रंगशालामा बंगलादेशसँग मैत्रीपुर्ण म्याच खेल्न लागेको हो । बंगलादेशी टोली भोली नेपाल आइपुग्ने एन्फाले जनाएको छ । 


प्रतिक्रिया