इटहरी गोल्डकपमा मच्छिन्द्रको सहज जीत

चैत्र ६, २०७९

सुनसरीमा जारी १३ औ संस्करणको इटहरी गोल्डकपको तेस्रो क्वाटरफाइनलमा ए डिभिजन च्याम्पियन मच्छिन्द्र क्लबले सहज जीत हात पारेको छ । इटहरी रंगशालामा आज सम्पन्न खेलमा पाहुना टोली भारतको कञ्चनजंघा फुटबल क्लबलाई ५–२ गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । मच्छिन्द्रको जीतमा कप्तान अफिज ओलावालले ह्याटिक सहित ४ गोल गरे । अर्को गोल बिजय भुजेलले गरे । 

पहिलो गोल १५ मिनेटमा गरेका ओलावालले ३९, ६६ र ८८ औ मिनेटमा गोल गर्दै आफ्नो गोल संख्या ४ पुर्‍याए । त्यसअघि बिजय भुजेलले ६४ औ मिनेट गोल गरेका थिए । कञ्चनजंगाको तर्फबाट अनिष राईले १५ औ र दोस्रो हाफको अतिरिक्त समयमा गोल गरे । खेलको म्यानअफ द म्याच मच्छिन्द्रका ओलावाले घोषित हुँदै नगद १० हजार हात पारे । आजको बिजेता मछिन्द्रले अब साबिक बिजेता सगरमाथा क्लब मोरंगसंग बुधबार सेमिफाइनलमा खेल्नेछ । 

सगरमाथा उद्धघाटन खेलमा एभिनियर फुटबल क्लब क्यामरुनलाई पराजित गदै सेमिफाइनल पुगिसकेको छ । भोलीको खेल बिभागीय टिम त्रिभुवन आर्मी र रोलिंग क्लब झापाबिच हुनेछ ।


प्रतिक्रिया