त्रिभुवन आर्मी इटहरी गोल्डकपको सेमिफाइनलमा

चैत्र ७, २०७९ | सुनसरी

विभागीय टोली त्रिभुवन आर्मी क्लब सुनसरीमा जारी इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार इटहरी रंगशालामा भएको अन्तिम क्वाटरफाइनलमा झापाको रोलिङ क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । 

आर्मीको जितमा दिपक गुरुङ, जिलेस्पीजंग कार्की, सुदिल राई र पदम तामाङले एक/एक गोल गरे । रोलिङ क्लबका लागि विदेशी खेलाडी डेडी वाम्बाले एक गोल फर्काए । खेलको म्यान अफ द म्याच आर्मीका कप्तान जिलेस्पीजंग कार्की घोषित भए । उनले नगद १० हजार रुपैयाँ पाए । 

यो जितसँगै इटहरी गोल्डकपको क्वाटरफाइनल समीकरण पनि पूरा भएको छ । आर्मीले बिहीबार हुने सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड क्लबसँग प्रतिस्पर्धा गर्नेछ । 

चर्च ब्वाइज यसअघि आयोजक राष्टिय जागृती क्लबलाई पराजित गर्दै सेमिफाइनल पुगिसकेको छ । प्रतियोगिता अन्तर्गत बुधबारबाट सुरु हुने पहिलो सेमिफाइनलमा साविक विजेता मोरङको सगरमाथा क्लब र ए डिभिजन क्लब मच्छिन्द्रबीच प्रतिस्पर्धा हुनेछ । 

मच्छिन्द्रले कञ्चनजंगा फुटबल क्लब भारतलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो भने सगरमाथाले एभिनियर फुटबल क्लब क्यामरुनलाई पराजित गर्दै सेमिफाइनल याता तय गरेको थियो । शनिबार हुने फाइनल खेल विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।


प्रतिक्रिया