लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन सुरु

चैत्र २४, २०८० | तिलोत्तमा

लुम्बिनीमा अन्तर्राष्ट्रिय पिस म्याराथन सुरु भएको छ । यो लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको दोस्रो संस्करण हो । गत वर्ष नेपाल ओलम्पिक कमिटी र प्रदेश खेलकुद परिषद लुम्बिनीले म्याराथन आयोजना गरेका थिए । 

यसवर्ष भने नेपाल ओलम्पिक कमिटी र प्रदेश खेलकुद परिषद लुम्बिनी, नेपालस्थित चिनियाँ दूतावास, लुम्बिनी विकास कोष र नेपाल पर्यटन बोर्डले संयुक्त रुपमा म्याराथनको आयोजना गरेका हुन् । 

बिहान सवा ६ बजे लुम्बिनी स्कवायरबाट सुरु भई भैरहवासम्म आएर पुनः लुम्बिनी स्कवायर पुगेर टुंगिनेछ । पुरुषतर्फको फुल म्याराथन ४२ दशमलव १९५ किलोमिटर र महिला हाफ म्याराथन २१ दशमलव १ किलोमिटर दूरी हुनेछ । खुलातर्फ महिला, पुरुष र विद्यार्थीका लागि ५ किलोमिटर रुट तय गरिएको छ ।

यसपटक पुरुषतर्फको म्याराथनमा प्रथम हुनेले ५ लाख रुपैयाँ, दोस्रो ३ लाख रुपैयाँ, तृतीय हुनेले २ लाख, चौथोले १ लाख तथा पाँचौंदेखि दशौं स्थानसम्म आउनेले क्रमशः ८०, ६०, ४०, २०, १० र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 

महिलातर्फको हाफ म्याराथनमा प्रथम हुनेले २ लाख, द्धितीयले १ लाख ६० हजार तथा तृतीयले १ लाख २० हजार रुपैयाँ पुरस्कार पाउने लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले बताउनुभयो । 

५ किलोमिटरको खुला महिला÷पुरुषको दौड र विद्यालयका छात्र÷छात्राको लागि ३ किलोमिटरको वाकाथन समेत आयोजना हुनेछ । ५ किमी र ३ किमी दुबै प्रतिस्पर्धाका विजेताले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

यसपटक पुरुषतर्फको म्याराथनमा ६०, महिलातर्फको हाफ म्याराथनमा २० जना, ५ किमीमा विद्यालयतर्फ १ सय जना तथा खुलामा ६५ एवं वाकाथनमा २ सय बढीको सहभागिता रहेको आयोजकले जनाएको छ । 


प्रतिक्रिया