नेपाल विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकासँग एक रनले पराजित

असार १, २०८१ | काठमाडौं

आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाल टेस्ट राष्ट्र दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ । वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टस्थित आर्नोस भेल मैदानमा दक्षिण अफ्रिकाले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रनमा समेटियो । 

अन्तिम ओभरमा विजयका लागि २ रन चाहिने अवस्थामा ओटनेइल बार्टमानको बलका विट भएका गुलशन झा रन आउट भए । नेपालका लागि आशिफ शेखले सर्वाधिक ४२ रन बनाए । उनले ४९ बलमा ४ चौका र एक छक्का प्रहार गरे । 

यस्तै, अनिल साह २७, कुशल भुर्तेल १३ रनमा आउट भए । गुलशनले ६ बलमा ६ रनमात्र बनाउन सके । सोमपाल कामी ४ बलमा ८ रन बनाइ अविजित रहे ।

दक्षिण अफ्रिकाका लागि तब्राइन साम्सीले सर्वाधिक चार विकेट लिए । एडेन मार्कराम र एनरिच नोटर्जेले समान एक/एक विकेट हात पारे ।

त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १५ रन बनाएको थियो । 

कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीको चम्किलो प्रदर्शन गरेपछि नेपालले उत्कृष्ट बलिङ गरेको थियो । दीपेन्द्रले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । भुर्तेलले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए । ट्वान्टी–२० मा भुर्तेलको यो उत्कृष्ट बलिङ पनि हो । 

नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग डालासमा ६ विकेटले पराजित भएको थियो । श्रीलंकाविरुद्ध फ्लोरिडामा भएको खेल वर्षाले रद्द पारेको थियो । नेपाल यस हारपछि समूहचरणबाटै बाहिरिएको छ । नेपालले बंगलादेशसँग आइतबार समूहचरणको अन्तिम खेल खेल्ने छ ।

दक्षिण अफ्रिकाको यो लगातार चौंथो जित हो । दक्षिण अफ्रिका पहिलो ३ खेल जितेर सुपर ‘एट’ मा पुगिसकेको छ ।


प्रतिक्रिया