विश्वकप क्रिकेटमा अमेरिकाविरुद्ध वेस्ट इन्डिजको सानदार जित

असार ८, २०८१ | काठमाडौं

आईसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर एट’मा वेस्ट इन्डिजले अमेरिकाविरुद्ध सानदार जित हात पारेको छ । घरेलु मैदान केन्सिङ्टन ओभल स्टेडियममा शनिबार बिहान भएको खेलमा वेस्ट इन्डिजले अमेरिकालाई ९ विकेटले हराएको हो । 

अमेरिकाले दिएको १२९ रनको लक्ष्य वेस्ट इन्डिजले ५५ बल अगावै पूरा गर्‍यो । जितका लागि १ सय २९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १० ओभर ५ बलमा एक विकेट गुमाउँदै १ सय ३० रन बनाएको हो । 

वेस्ट इन्डिजको जितमा साइ होपले विस्फोटक ब्याटिङ गरे । होपले ३९ बलमा ४ चौका र ८ छक्काको मद्दतमा नटआउट ८२ रनको योगदान गरे । निकोलस पूरनले २७ र जोनसन चाल्र्सले १५ रन बनाए । अमेरिकाका हरमित सिंहले एक विकेट लिए ।

त्यसअघि वेस्ट इन्डिजले टस जितेर फिल्डिङ् रोजेपछि ब्याटिङको निम्तो पाएको अमेरिकाले १९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १ सय २८ रन बनाएको थियो । अमेरिकाका लागि एन्ड्रिज गौसले बनाएको २९ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । 

निशित कुमारले २०, मिलिन्द कुमारले १९ र शादली भान स्कल्क्वीकले १८ र अली खानले नटआउट १४ रन बनाए । वेस्ट इन्डिजका आन्द्रे रसेल र रोस्टन चेसले समान ३÷३ विकेट लिए । 

यस्तै, अल्जारी जोसेफले २ तथा गुडाकेश मोतीले एक विकेट हात पारे । यो नतिजासँग दुई अंकसहित वेस्ट इन्डिज ‘सुपर एट’को समूह–२ को दोस्रो स्थानमा रह्यो । चार अंकका साथ दक्षिण अफ्रिका शीर्ष स्थानमा छ । 

‘सुपर एट’को आफ्नो पहिलो खेलमा आयोजक वेस्ट इन्डिज इण्डियासँग ९ विकेटले पराजित भएको थियो । वेस्ट इन्डिजले अब आफ्नो तेस्रो खेलमा पर्सि सोमबार दक्षिण अफ्रिकाको सामना गर्नेछ । 

लगातार दुई खेल गुमाएको अमेरिकाले आफ्नो तेस्रो खेलमा भोलि (आइतबार) राति सवा ८ बजे इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । 


प्रतिक्रिया