युरो कप फुटबलमा जर्मनीको विजयी सुरुवात

असार १, २०८१ | काठमाडौं

युरो कप फुटबलमा आयोजक जर्मनीले विजयी सुरुवात गरेको छ । एलियान्ज एरिना स्टेडियममा गएराति भएको उद्घाटन खेलमा जर्मनीले स्कटल्यान्डलाई ५–१ गोल अन्तरले हराएको हो । 

खेलको १० औं मिनेटमा फ्लोरियन विर्ट्जले गोलको खाता खोलेपछि १९ औं मिनेटमा जमल मुसियलाले दोस्रो गोल थपे । काई हारभटेजले पेनाल्टीबाट तेस्रो गोल गरे । 

निक्लास फुलक्रगले ६८ औं मिनेटमा चौथो गोल गरे । तर, खेलको ८७ औं मिनेटमा एन्टोनियो रुडिगरले आत्मघाती गोल गरेपछि स्कटल्याण्डले गोल अन्तर केही कम भएको थियो । 

जमर्नीका लागि एमरी क्यानले खेलको अतिरिक्त समयमा पाँचौं गोल गरे । समूह ‘ए’ मा बेहोरेको यो हारपछि स्कटल्यान्डसामु अब आफ्नो चुनौती कायम राख्न स्विटजरल्यान्ड र हंगेरीविरुद्ध राम्रो खेल्नु पर्नेछ । 

डिफेन्डिङ च्याम्पियन इटालीसँगै युरो २०२४ खेल्ने २४ देश विश्व फुटबलका बलिया टिम हुन् । तर, यसपल्ट फ्रान्स र इंग्ल्यान्डलाई बलियो प्रत्याशीका रुपमा हेरिएको छ । 

यसैबीच, स्पेन र क्रोएसियाले आज एक अर्काविरुद्ध खेलेर आफ्नो युरो यात्रा सुरुआत गर्दैछन् । अर्को खेलमा हंगेरीले स्विट्जरल्यान्डको सामना गर्नेछ ।


प्रतिक्रिया