नेपाल र ओमानबीचको खेल वर्षाले रद्द

आश्विन ९, २०८१ | काठमाडौं

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल र ओमानबीचको खेल वर्षाले रद्द भएको छ । क्यानडा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले ओमानसँग अन्तिम खेल खेल्ने तालिका भएपनि वर्षा नरोकिएपछि खेल रद्द भएको हो । 

लगातार खराब प्रदर्शन गरिरहेको नेपाली क्रिकेट टिमलाई वर्षाले ठूलो राहत दिलाएको छ । खेल रद्द भएसँगै नेपालले एक अंक प्राप्त गरेको छ । किंग्स सिटीमा हुनुपर्ने खेलमा वर्षाका कारण एकै बल पनि सम्भव भएन । 

यो नतिजापछि नेपाल आठ खेलबाट तीन अंकसहित सातौं स्थानमा रह्यो । नेपालले क्यानाडा भ्रमणको त्रिकोणात्मक शृंखलाका यसअघिका सबै तीनै खेल गुमाएको थियो । 

पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएको थियो । 

ओमानसँगको दोस्रो खेलमा भने १ विकेटले पराजित भएको नेपालले तेस्रो खेलमा घरेलु टोली क्यानडाविरुद्ध ५ विकेटको हार बेहोरेको थियो । 

ओमान भने छ अंकका साथ तालिकाको छैटौं स्थानमा रहेको छ । घरेलु टोली क्यानाडा भने १४ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ ।


प्रतिक्रिया