नेपाल प्रिमियर लिग क्रिकेटको प्लेअफ पुग्ने थप दुई टोलीको टुङ्गो
मंसिर ३०, २०८१ | काठमाडौं
नेपाल प्रिमियर लिग क्रिकेटको प्लेअफमा पुग्ने थप दुई टोलीको टुङ्गो लागेको छ । आजको खेलपछि सुदूरपश्चिम रोयल्स र चितवन राइनोज प्लेअफमा पुगेका हुन् ।
जनकपुर बोल्ट्स भने यसअघि नै प्लेअफ पुगिसकेको छ । अब प्लेअफ पुग्ने अन्तिम टोलीको टुङ्गो भोली हुने सुदूरपश्चिम र कर्णाली याक्स बीचको खेलपछि लाग्नेछ । प्लेअफ होडमा कर्णाली र काठमाडौं गुर्खाज छन् ।
कर्णाली ६ खेलबाट ८ अङ्कसहित तालिकाको चौंथो स्थानमा छ । राउण्ड रोबिनका सातै खेल खेलिसकेको काठमाडौं ८ अङ्कका साथ पाँचौं स्थानमा छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा स्कट कुग्लेनले ५ विकेट लिएपछि सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ५ रनले पराजित ग¥यो । १ सय ५४ रनको लक्ष्य पाएको पोखरा १ सय ४८ रनमा अलआउट भयो । पोखराका लागि आन्द्रेश गौसले सर्वाधिक ३६ रन जोडे ।
त्यसअघि पोखराले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो । सुदूरपश्चिमका आरिफ शेखले सर्वाधिक ४२ रन जोडे । पोखराका लागि कप्तान कुशल भुर्तेलले २ विकेट लिए ।
विराटनगरमाथि काठमाडौंको रोमाञ्चक जित
आजको पहिलो खेलमा काठमाडौं गुर्खाजले विराटगर किङ्ग्सलाई १ विकेटले हरायो ।
विराटनगरले दिएको १ सय १८ रनको लक्ष्य काठमाडौंले १८ ओभर १ बलमा ९ विकेट गुमाएर पूरा गर्यो । काठमाडौंका लागि प्रतिक श्रेष्ठले सर्वाधिक ३९ रन जोडे । तल्लो क्रमका ब्याटर दिपेश कंडेलले ५ बलमा नट आउट ११ रन जोड्दै रोमाञ्चक जित दिलाए ।
विराटनगरका लागि सन्दीप लामिछानेले ३ तथा अनिल खरेल, क्रिस सोल र बसिर अहमदले समान २ लिए । त्यसअघि, काठमाडौंले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको विराटनगरले १९ ओभर ५ बलमा अल आउट हुँदै १ सय १७ रन बनाएको थियो ।
विराटनगरका लागि राजेश पुलामी मगरले सर्वाधिक २५ रन जोडे । काठमाडौंका जेरार्ड एरास्मसले ३, दिपेश कंडेलले २ तथा डान डाउथ वेट, करण केसी र शाहब आलमले समान १ विकेट लिए ।