सुदूरपश्चिम रोयल्सले कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्दै

पुस १, २०८१ | काठमाडौं

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर कर्णालीलाई ब्याटिङका लागि बोलाएको छ । 

प्रतियोगिताको लिग चरणको यो अन्तिम खेल पनि हो । सबै टोलीले आफ्नो लिग चरणको अन्तिम खेल खेलिसकेका छन् । सुदूरपश्चिम रोयल्स जारी प्रतियोगिताको प्लेअफ चरणमा पुगिसकेको छ भने कर्णालीले प्लेअफमा स्थान बनाउन यो खेल जित्नै पर्ने हुन्छ ।

प्लेअफ र क्वालिफायर्स १ को समिकरणको हिसाबमा दुवैका लागि यो खेल निकै महत्त्वपूर्ण रहेको छ । सुदूरपश्चिम सहित जनकपुर बोल्ट्स र चितवन राइनोजले प्लेअफमा स्थान सुरक्षित गरिसकेका छन् । 

सुदूरपश्चिमले यस खेल जितेमा औपचारिक हिसाबमै शीर्ष टोली बनेर क्वालिफायर्स १ मा पुग्नेछ । ६ खेलमा ५ खेल जितेर १० अंकका साथ शीर्ष स्थानमा रहेको सुदूरपश्चिमको कर्णालीसँगको यस खेल अघि नै शीर्ष २ टोली भित्र पर्ने निश्चित जस्तै छ ।

पहिलो दुई खेल हारेको कर्णालीले त्यसपछि चार खेल जितेर ८ अंकका साथ चौथो स्थानमा छ । शीर्ष चार टोली प्लेअफमा पुग्ने प्रावधान छ, त्यसमा शीर्ष दुई टोली फाइनल पुग्न क्वालिफायर्स १ मा भिड्ने छन् भने तेस्रो र चौथो हुने टोली इलिमिनेटरमा खेल्ने छन् ।

सुदूरपश्चिममाथि विजय हात पारे कर्णाली शीर्ष दुई भित्र परेर क्वालिफायर्स १ मा पुग्ने सम्भावना बलियो पनि छ । तर, ठूलो हारले कर्णाली बाहिर भने पनि सक्ने छ । चितवन राइनोज, कर्णाली र काठमान्डु गुर्खाजको समान ८ अंक छ । राम्रो रन रेटको कारण चितवन तेस्रो टोलीको रुपमा प्लेअफमा पुगेको हो ।


प्रतिक्रिया