प्रधानमन्त्री कप महिला टी–ट्वान्टीमा लुम्बिनी प्रदेशको पहिलो जित

माघ ४, २०८१ | काठमाडौं

प्रधानमन्त्री कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले पहिलो जित हात पारेको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा आज भएको खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । ९८ रनको लक्ष्य लुम्बिनीले १६ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।

त्यसअघि गण्डकीले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै ९७ रन बनाएको थियो । जितसँगै लुम्बिनीले ३ खेलबाट ३ अंक जोडेको छ । ४ खेलबाट एक अंक जोडेको गण्डकी चौंथो स्थानमा छ । यसअघि आजै भएको खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई १० विकेटले हराएको छ ।

कर्णालीले दिएको लक्ष्य सुदूरपश्चिमले ९ बलमा पूरा गरेको हो । ढिला गरि सुरु भएको खेल ५ ओभरमा छोट्याइएको थियो । २१ रनको लक्ष्य सुदूरपश्चिमले १ ओभर ३ बलमा विना विकेटको क्षतिमा पूरा गर्यो । सुदूरको जितमा कविता कुँवरले सर्वाधिक १४ रन जोडिन् ।

त्यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित ५ ओभरमा ७ विकेट गुमाएर २० रन बनाएको थियो । लगातार तेस्रो जितसँगै सुदूरपश्चिम ६ अंकका साथ समूह ए को शीर्ष स्थानमा उक्लिएको छ । कर्णाली ३ खेलमा १ अंकका साथ पाँचौ स्थानमा छ । 


प्रतिक्रिया