नेपालले महिला टी-२० सिरिजमा थाइल्यान्डको सामना गर्दै
माघ १९, २०८१ | काठमाडौं
नेपालले त्रिकोणात्मक महिला टी–२० सिरिज अन्तर्गत आफ्नो दोस्रो खेलमा आज थाइल्यान्डको सामना गर्दैछ । सिरिजको आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको घरेलु टोली नेपाल आज पुनरागमन गर्ने योजनामा हुनेछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र थाइल्यान्डबीचको प्रतिस्पर्धा मध्याह्न सवा १२ बजे सुरु हुनेछ । नेपाल आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो । जितका लागि १ सय ५८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाई १ सय ३७ रनमात्र बनाउन सक्यो ।
थाइल्यान्ड आज लगातार दोस्रो जितको लक्ष्यमा हुनेछ । यसअघि हिजो भएको खेलमा थाइल्यान्डले नेदरल्यान्ड्सलाई ८ विकेटले पराजित गरेको थियो ।
नेदरल्यान्ड्सले दिएको १२३ रनको लक्ष्य थाइल्यान्डले १८ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो । तीन राष्ट्र सम्मिलित प्रतियोगितामा थाइल्यान्ड माथिल्लो वरीयताको टोली हो ।
आईसीसी महिला टी–२० आई वरीयतामा थाइल्यान्ड १३ औं र नेदरल्यान्ड्स १६ औं स्थानमा छ । विश्व वरीयतामा नेपाल २० औं स्थानमा रहेको छ ।
त्रिकोणात्मक महिला टी–२० सिरिजमा सहभागी टोलीले एक अर्कासँग तीन पटक खेल्नेछ । सर्वाधिक अंक ल्याउने टोली विजेता बन्ने नेपाल क्रिकेट संघले छ ।