थाइल्यान्ड लगातार तेस्रो जितको लक्ष्यमा
माघ २१, २०८१ | काठमाडौं
नेदरल्यान्ड्सले त्रिकोणात्मक महिला टी–२० आई सिरिजको आफ्नो चौंथो खेलमा आज थाइल्यान्डको सामना गर्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने नेदरल्यान्ड्स र थाइल्यान्डबीचको खेल मध्याह्न सवा १२ बजे सुरु हुनेछ ।
नेदरल्यान्ड्स तेस्रो जितको लक्ष्यमा छ । सिरिजमा नेदरल्यान्ड्सले यसअघि खेलेका ३ मध्ये २ मा जित र एकमा हार व्यहोरेको छ । चार अंक जोडेको नेदरल्यान्ड्स तालिकाको दोस्रो स्थानमा रहेको छ ।
थाइल्यान्ड भने लगातार तेस्रो निकाल्ने योजनमा हुनेछ । यसअघिका दुबै खेलमा जित हासिल गरेको थाइल्यान्ड समान चार अंकसहित तालिकाको शीर्ष स्थानमा छ । थाइल्यान्डले आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सलाई ८ विकेट र अर्को खेलमा नेपाललाई ४ विकेटले हराएको थियो ।
नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड सम्मिलत महिला टी–२० आई सिरिजमा घरेलु टोली नेपाल भने अंकविहीन छ । नेपालले खेलेका तीन वटै खेलमा पराजित भएको थियो ।
घरेलु टोलीले आफ्नो चौंथो खेलमा भोलि थाइल्यान्डको सामना गर्नेछ । सहभागी टोलीले एकअर्कासँग तीन पटक खेल्नेछन् र सर्वाधिक अंक ल्याउने टोली विजेता बन्नेछ । महिला टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिताको वरीयतामा थाइल्यान्ड १३ औं, नेदरल्यान्ड्स १६ औं र नेपाल २० औं स्थानमा रहेको छ ।