मच्छिन्द्रलाई पराजित गर्दै चर्च ब्वाइज च्याम्पियन

फाल्गुन १३, २०८१ | मकवानपुर
बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सातौं संस्करणको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ । सोमबार मकवानपुरको बागमती–४ स्थित सहिद स्मृति रंगशालामा भएको फाइनलमा साविक विजेता मच्छिन्द्र क्लबलाई १–० गोलले हराउँदै चर्च ब्वाइजले उपाधि हात पारेको हो ।
चर्च ब्वाइजको जितमा समीर तामाङ नायक बने । उनले खेलको ४७ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । तामाङ खेलको म्यान अफ द म्याच घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गरे ।
उपाधिसँगै चर्च ब्वाइजले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता मछिन्द्रले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ । चर्च ब्वाइजले पहिलो सहभागितामै गोल्डकपको उपाधि जितेको हो ।
मच्छिन्द्रले थ्री स्टारलाई र चर्च ब्वाइजले एपीएफलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाइजका सन्तोष खत्री घोषित भए । उनले १ लाख १ हजार १ सय १ रुपैयाँ प्राप्त गरे ।
उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजका टेकेन्द्र थापा, डिफेन्डर मछिन्द्रका देवेन्द्र तामाङ, मिडफिल्डर मछिन्द्रका रोशन राना मगर, फरवार्ड चर्च ब्वाइजका समीर तामाङ र प्रशिक्षक चर्च ब्वाइजका सुमन श्रेष्ठ घोषित भए ।
विधागत उत्कृष्ट सबैलाई जनही २५–२५ हजार रुपैयाँ प्रदान गरिएको आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितिले जनाएको छ ।