महिला च्याम्पियनसिप फुटबलको उपाधि म्यानमारलाई

फाल्गुन १४, २०८१
चार राष्ट्र सम्मिलित अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलको उपाधि म्यानमारले जितेको छ ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङशालामा सम्पन्न खेलमा नेपालाई २–० गोल अन्तरले पराजित गर्दै म्यानमारले उपाधि जितेको हो । खेलमाथि नेपालको पूर्ण नियन्त्रण रहे पनि टिमले त्यसको फाइदा उठाउन सकेन ।
गोलरहित बराबरीमा पहिलो हाफ सकिए पनि दोस्रो हाफमा भने म्यानमारले गोल गर्दै नेपालको उपाधि खडेरी यात्रा कायमै राखेको हो । खेलको ६२ औं मिनेटमा म्यानमारका लागि यु पर किनले गोल गर्दै अग्रता दिलाएकी थिइन् ।
एक गोलले पछाडि रहेको स्थितिमा दबाबमा आएको नेपालका लागि गीता रानाले ६४ औं मिनेटमा आत्मघाती गोल गरिन् । आजको हार सँगै नेपालले विभिन्न १३ वटा प्रतियोगिताको फाइनलमा पुगेर हार व्यहोरेको छ । नेपाली चार दशक लामो अन्तर्राष्ट्रिय फुटबलको इतिहासमा एउटै पनि उपाधि जित्न सकेको छैन ।