नयाँ दिल्लीमा नेपाल महोत्सव हुने

फाल्गुन १४, २०८१ | काठमाडौं
नेपाल र भारतबीचको आर्थिक सहकार्य आदानप्रदानलाई सशक्त बनाउने उद्देश्यसहित नयाँ दिल्लीमा नेपाल महोत्सव आयोजना हुने भएको छ ।
नेपाली दूतावासको सहयोगमा एभरेष्ट चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजले आयोजना गर्न लागेको महोत्सवमा नेपालको व्यापार, पर्यटन, उद्योग, संस्कृति र व्यापारिक सम्भावनालाई प्रस्तुत गर्ने तयारी भएको छ ।
आगामी अप्रिल ११, १२ र १३ तारिखमा नयाँ दिल्लीस्थित नेपाली दूतावास परिसरमै महोत्सव आयोजना हुने एभरेस्ट चेम्बरले जनाएको छ । चेम्बरका अध्यक्ष युवराज बरालले महोत्सवले उद्यमीका साथै नीति निर्माता, लगानीकर्तादेखि संस्कृतिप्रेमी र सर्वसाधारणलाई एक अर्कासँग सहकार्यको अवसर प्रदान गर्ने बताउनुभयो ।